निर्वाचन सफल पार्न नागरिक समाजको भूमिका



  • गम्भीरबहादुर हाडा

काठमाडौं । नागरिक समाजका बारेमा कुनै ठोस परिभाषा भएको पाइँदैन । यसका उद्देश्य र कार्यक्षेत्रका आधारमा यसको चिनारी गराइएको पाइन्छ । यसको कार्यक्षेत्र विविध किसिमको हुन्छ । सानासाना सङ्घ वा समूहदेखि लिएर अन्तर्राष्ट्रियस्तरसम्म यसको विस्तार भएको छ ।

एउटा गाउँको महिला जागरण समूह र ट्रान्सपरेन्सी इन्टरनेसनल दुवैलाई नागरिक समाजको दायराभित्र राख्नुपर्ने भएकाले पनि यसको उपयुक्त परिभाषा हुन नसकेको हो ।
कार्यक्षेत्र र उद्देश्यको आधारलाई ध्यानमा राखेर ‘समाजको मानवीय सम्वेदनासँग आबद्ध रहेर सामाजिक परिचालनमा रहने सरकार र बजार संयन्त्रभन्दा बाहिर रहेको समूह वा आन्दोलन’लाई नागरिक समाजको सङ्ज्ञा दिइएको पाइन्छ ।

नागरिक समाजभित्र पेसागत सङ्घसंस्थाहरू (जस्तै : चिकित्सक, इन्जिनियर, कानुन व्यवसायी), विभिन्न जातिगत संस्थाहरू (जस्तै : दलित सङ्घ, किराँत सङ्घ), शिक्षक/प्राध्यापक सङ्घहरू, श्रमिक सङ्घसंस्थाहरू, मानवअधिकारवादी संस्थाहरू पर्छन् । नागरिक समाज राज्यका विरुद्धमा होइन, यससँग मिलेर नीतिगत विषयमा ठोस निर्णय लिन सक्रिय रहन्छन् । वस्तुतः नागरिक समाज आजको उपज होइन । प्राचीनकालदेखि नै यसका बारेमा चिन्तन गर्न थालिएको पाइन्छ । सबै राजनीतिक विचारधारा भएका दार्शनिकहरूले यसको वकालत गरेका छन् । कार्ल माक्र्स, इमानुएल कान्ट र अगस्टाइनलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

नागरिक समाज भनेको गैरराज्य तथा गैरसरकारी रूपमा तल्लो तहबाट सङ्गठित स्वयंसेवी मानिसहरूको समूह, सङ्गठन वा गतिविधि हो । नागरिक समाजको विकासलाई बीसौँ शताब्दीको महत्वपूर्ण उपलब्धिहरूमध्ये एक मानिएको छ । व्यापक दृष्टिकोण, बहुमुखी उद्देश्य, नीति तथा कार्यक्रमका साथै बृहत्तर सम्बन्ध भएका नागरिकहरू नै यसका सङ्गठनकर्ताका रूपमा रहेका हुन्छन् ।

नागरिक समाजलाई जनशक्तिको स्रोत र बहुसङ्ख्यक जनताको जमघटको थलो मानिन्छ । यो बहुसङ्ख्यक मानिसहरूको जीवनस्तरलाई उकास्नका लागि आवश्यक पर्ने दक्षता र क्षमताको संयोजन गर्ने ठाउँ पनि हो । यसैगरी नागरिक समाजले विभिन्न सामाजिक समुदायहरूका बीच विचार विमर्श गर्ने, सङ्गठित हुने र आफ्नोआफ्नो विकास गर्ने सभा मञ्चसमेत प्रदान गर्छ । नागरिकहरूका समान चाहना, मूल्य र प्रतिबद्धतालाई अभिव्यक्त गर्ने सङ्गठित समूहको काम पनि नागरिक समाजले गर्छ । नागरिक समाज विकासको वैकल्पिक मार्ग पनि हो । यसले जनमुखी विकासको माग राख्छ ।

जनताका समान चाहना, मूल्य प्रतिबद्धता आदिको व्यावहारिक प्रतिवादनलाई मूर्त रूप दिनका लागि समाजका विभिन्न समूहको मागलाई अभिव्यक्त गर्ने वैकल्पिक बाटोका रूपमा लिइएको छ । यो यस्तो दिशा निर्देश हो, जसमा समान उद्देश्यका लागि थुप्रै मानिसहरू आपसी सम्बन्धमा बाँधिएका हुन्छन् । सामाजिक घटनालाई सचेततापूर्वक आलोचनात्मक रूपमा हेर्ने गर्छन् ।

नागरिक समाजहरू स्पष्ट रूपमा राज्यशक्तिका विषयमा ठोस निर्णय लिन सक्ने स्थितिमा हुन्छन् । यिनीहरू राज्यशक्तिप्रति उदासीन भएका हुँदैनन् बरु राज्यको केन्द्रीय अङ्गसित मिलेर समस्तरको प्रतिरोधी शक्तिका रूपमा रहेका छन् । नागरिक समाजलाई स्वतःस्फूर्त रूपमा मानिसहरू सङ्गठित थलोका रूपमा चिनिन्छ । नागरिक समाज परिवार, व्यक्तिको निजी अवस्था, चाहना तथा जीवनदर्शनका निम्ति बनेको सम्बन्ध सूत्रको जालो हो ।

नेपालमा ऐतिहासिककालदेखि नै नागरिक समाजले राज्यशक्तिसँग मिलेर काम गर्दै आएको छ । लिच्छवी र मल्लकालीन नेपालमा नागरिक समाजको भूमिका महत्वपूर्ण थियो । नेपालको एकीकरणमा पनि नागरिक समाजका सङ्गठनहरूले महत्वपूर्ण योगदान पुर्‍याएका थिए । राणाकालीन राजनीतिमा भने यिनीहरू फस्टाउन सकेनन् । अधिनायकवादी राज्य परम्परामा नागरिक समाजलाई पूरै दबाइएको हुन्छ । यति हुँदाहुँदै पनि प्रजातन्त्रको स्थापनामा नागरिक समाजले महत्वपूर्णभूमिका खेलेको हामी पाउँछौँ ।

प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नागरिक समाजका सङ्गठनहरू फेरि सक्रिय हुन थालेका छन् । आजभोलि नागरिक समाजका सङ्गठनहरू प्रजातान्त्रिक वातावरणको सिर्जना, मानवअधिकारको प्रत्याभूति, लैङ्गिक समता, वातावरण संरक्षण, सुशासन, आधारभूत आवश्यकताको पूर्ति र स्वावलम्बनमा आधारित विषयहरूमा केन्द्रित छन् ।
वास्तवमा नागरिक समाज भनेको गैरराज्यीय, गैरसरकारी, स्वेच्छिक, तलैबाट उठेका जनमञ्च सङ्गठन र आन्दोलन हुन्, जसले सामाजिक जीवनका हरेक पक्षहरूमा आवश्यकताअनुसार क्रियाशील रही जनतालाई विविध कोणबाट सहयोग पुर्‍याउँछन् ।

नागरिक समाजभित्र ट्रेड युनियन, गैरसरकारी संस्था, भाषागत संस्था तथा समूहहरू दानदातव्यसम्बन्धी सङ्घसंस्थाहरू, व्यापारिक संस्थाहरू, सांस्कृतिक एवं धार्मिक तथा लैङ्गक समूहहरू, सहकारी तथा सामुदायिक विकास संस्थाहरू, वातावरण समूहहरू, पेसागत सङ्घसंस्थाहरू, प्राज्ञिक तथा नीति निर्माणमा सरोकार राख्ने संस्थाहरू तथा सञ्चार माध्यमहरू पर्छन् ।

नागरिक समाजका मुख्य कार्यहरूमा नागरिकको चासो र समस्याका विषयमा सरकारलाई राय सुझाव दिने, राज्यको नीति निर्माण एवं कार्यक्रम तर्जुमा गर्न सरकारलाई सुझाव, दबाब तथा सहकार्य गर्ने, सामाजिक समस्याहरूप्रति सचेत र सजग गराउने, नागरिक चेतना बढाउन र राज्यप्रतिको दायित्व पूरा गर्न नागरिक शिक्षा प्रदान गर्ने, सामाजिक अपराध न्यूनीकरण गर्न एकता कायम गरी सङ्गठित हुने, उपभोक्ता हित प्रवद्र्धन गर्ने\गराउने, अध्ययन तथा अनुसन्धान कार्यमा सहयोग गरी समाज परिवर्तनमा सहयोग गर्ने पर्छन् ।

नागरिक समाजका सकारात्मक पक्षहरूमा जनताको आवश्यकताको पहिचान र परिपूर्तिमा सहयोग पुर्‍याउने, जनपरिचालनको माध्यमबाट राष्ट्र निर्माणको कार्यलाई प्रभावकारी बनाउने, सुशासनको अवधारणालाई व्यावहारिक रूप दिन सरकारलाई सुझाव र दबाब दिने, जनआकाङ्क्षायुक्त नीति निर्माणमा दबाब सिर्जना गर्ने, समाजका कमजोर र पिछडिएका वर्गहरूको आवाजलाई बुलन्द गर्ने, सम्बन्धित पक्षलाई जनताप्रति उत्तरदायी बनाउने, राज्यको नियन्त्रण र बजार संयन्त्रको एकाधिकारबाट जनतालाई मुक्त राख्ने कार्यलाई अभियानको रूपमा उठाउनुपर्ने देखिन्छ ।

नागरिक समाजका नकारात्मक पक्षहरूमा नेपालका नागरिक समाज राजनीतिकृत हुनु, नागरिक समाजले आफ्नो क्षमताले भन्दा दाता निकायको दबाबमा काम गर्ने गरेका, सीमित व्यक्तिहरूको रुचिका आधारमा नागरिक समाज परिचालित हुनु, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुने, स्रोत परिचालनमा सुझावभन्दा बढी माग मात्र राख्न उद्यत गराउने काममा सरिक हुनु, नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ पूरा भएपछि नागरिक समाजको माग ओझेल पर्ने गरेको, नागरिक समाजहरूबीचमा एउटै विषयका मागहरूमा पनि फरकफरक ढङ्गले प्रस्तुत हुनु पर्छन् ।

जुन उद्देश्यले स्थापना भएका थिए, सोअनुरूप कार्य सञ्चालन नभएको, नवधनाढ्यहरूको बर्चस्व रहेको, तल्लो वर्गको हितमा कम संलग्नता, राजनीतिसँग आबद्धता, शिक्षक, प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ, सङ्गठन, राजनीतिक आस्थाकै आधारमा पृथक्, तारे होटलमा गोष्ठी, सभा गर्ने र विदेश सयरमा रमेका, जागिर खाने, विदेशबाट सहयोग ल्याउने, समाजसेवा भएको देखाउने तर उपलब्धि हात नपार्ने प्रवृत्ति रहेको देखिन आउँछ ।

नागरिक समाजको प्रभावकारिता ल्याउन चाल्नुपर्ने कदमहरूमा नागरिक समाज राजनीतिकृत हुन नहुने, नागरिक समाजले क्षमता बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने, दाता निकायको दबाबमा भन्दा देशको आवश्यकतामा काम गर्नुपर्ने, स्वतन्त्र र निष्पक्ष नभई पूर्वाग्रहका आधारमा परिचालित हुनु नहुने, स्रोत परिचालनमा सुझावभन्दा बढी माग मात्र नराखी जिम्मेवार हुनुपर्छ । नागरिक समाजको अगुवाले व्यक्तिगत स्वार्थ हेर्नुहुँदैन, नागरिक समाजहरू समाजका मागहरूमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

विकास भन्नाले समाजमा परिवर्तन ल्याउने त्यस्तो प्रक्रिया हो, जसले आर्थिक वृद्धि, आयको समान वितरणका साथै सामाजिक मूल्य, मान्यतालाई समेत संरक्षण गर्छ । ग्रामीण विकासको क्षेत्र व्यापक भएकाले उल्लेखित एक वाक्यले मात्र यसलाई पूर्णता दिन सकिँदैन तथापि यसले ग्रामीण विकासलाई बहुआयामिक दृष्टिबाट प्रष्ट्याउन खोजेको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रमा रहेका सामाजिक, आर्थिक, राजनीतिक आदि स्थितिबाट जनताको स्तर गुणात्मक र मात्रात्मक दुवै रूपले माथि उठ्नुसँग विकासको सम्बन्ध हुन्छ । त्यसैले ग्रामीण विकास एउटा बहुआयामिक विधा पनि हो ।

ग्रामीण विकासका सन्दर्भमा गरिबी मुख्य समस्याका रूपमा रहेको छ । साथसाथै ‘मानिस गरिब भएकैले गरिब भएका हुन्’ भन्ने निराशावादी सोचको विकास पनि भएको पाइन्छ । तथापि, यो निराशावादी गरिब जनता गरिबीको कुचक्रमा फसेका हुन्छन् । यो कुचक्र ग्रामीण जनताको एउटा कठिन पासो पनि हो । यो कुचक्रबाट मुक्त हुन त्यतिकै कठिन छ ।
यसैबीच आगामी ४ मङ्सिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन गइरहेको छ । तर, नागरिक समाजले निर्वाचन कसरी सफल पार्ने र नागरिकले के कस्तो भूमिका र दायित्व निभाउनुपर्ने हो ? त्यसका लागि केही सुझावहरू यस लेखअन्तर्गत दिन खोजिएको छ ।

पहिलो त चुनाव शान्तिपूर्वक गराउने र झैझगडा नगराउने वातावरण तयार गर्नुपर्नेछ । दोस्रो, प्रत्येक नागरिकले भोट हाल्न पाउने अधिकार भएकाले जसरी भए पनि आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न पाउनु अनिवार्य छ । म एक जना नगएर केही हुँदैन भन्ने कुरा मनमा कहिल्यै सम्झनुहुँदैन । यसरी नै उम्मेदवारहरूले भोट माग्न आएमा राम्रोसँग सल्लाह, सुझाव दिएर आफ्नो कुरा राख्नुपर्छ । भोट हाल्नेबेलामा सबै नागरिकले राम्रोसँग उम्मेदवारलाई छानेर मात्र भोट हाल्नुपर्छ । पहिला नै प्रत्येक नागरिकले कुन व्यक्तिलाई भोट हाल्ने र कस्तो व्यक्तिलाई छान्नुपर्छ भन्ने कुरा राम्रोसँग विचार गर्नु अनिवार्य छ । कुनै पनि उम्मेदवारले भोट माग्न आएमा कसैको पनि पक्षमा लागेर झैझगडा र गाली गलौज गर्नुहुँदैन । यसबाट नराम्रो परिणाम पनि निस्कन सक्छ ।

निर्वाचन भनेको कसैले यस्तै हुन्छ भनेर भन्न सकिँदैन किनभने जित्छ भनेको मान्छेले हार्न पनि सक्छ र हार्ने भनेको मान्छेले जित्न पनि सक्छ । उम्मेदवारले जित्ने /हार्ने सम्बन्धमा कसैले पनि ठोस कुरा गर्न सकिँदैन किनभने नागरिकहरूले भोट हाल्नुपर्ने भएकाले नागरिकहरूकै दायित्वमा भर पर्ने भएकाले प्रत्येक नागरिकले राम्रोसँग सम्झेर, बुझेर सरसल्लाह गरेर मात्र भोट हाल्नुपर्छ ।

भोट हाल्ने ठाउँमा गएपछि कुनै नागरिकलाई अर्कै वातावरण सिर्जना हुने भएकाले प्रत्येक नागरिकले कसरी भोट राख्ने र कुन ठाउँमा चिह्न लगाउने र आफूले चिह्न लगाउने गरेको ठिक छ कि छैन ? सो कुरा सोच विचार गरेर काम गर्नु पनि त्यतिकै महत्वपूर्ण हुन आउँछ । कुनै पनि उम्मेदवारलाई प्रत्येक नागरिकले पैसा, जातभात, नातेदार, छिमेकी, साथीभाइ भनेर नसम्झीकन राम्रो काम गर्नलायकको उम्मेदवारलाई मात्र भोट हाल्ने गर्नुपर्छ ।

पुरानो उम्मेदवार पनि कोही राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ, त्यसमा नागरिकले विचार गर्नुपर्छ र काम गर्न सक्षम नयाँ उम्मेदवारहरूलाई पनि साथ दिनु आवश्यक छ । सधैँ एउटै उम्मेदवारलाई मात्र जिताउनु पनि आजको समयमा ठिक छैन र समयअनुसार परिवर्तन हुने भएकाले नागरिकहरू पनि समय र परिस्थितिअनुसार परिवर्तन हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्