कुन मुखले भोट माग्ने नेताज्यू ?



  • मञ्जु भट्ट

काठमाडौं । अस्पताल जाने रहर कसैलाई पनि हुँदैन। तर, त्यही अस्पताल नगई नहुने बाध्यता आएपछि नगई सुखै हुँदैन। देशकै ठूलो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा एक दिन अगाडि गएर डाक्टर आउने दिन र समय लिएर आएका थियौँ।

२ जना डाक्टरहरूको नाम हामीलाई सिफारिस गरिएको थियो । अर्को दिन बिहान साढे ८ बजेदेखि टिकट काट्न सुरु गरिने हुँदा हामी पनि ठिक साढे ८ बजे अस्पतालभित्र छिरिसकेका थियौँ । दसैँको समय भएर होला, पुरानो टिकट लिने ठाउँमा धेरै भिड थिएन ।

सरकारी अस्पतालको उपचार उसै पनि ढिलै हुन्छ । टिकट हातमा परिसकेपछि हामी सर्जिकल विभागतिर हुइँकियौँ । ९ बजे आइसक्ने भनिएका १ जना डाक्टर सवा १० बजेतिर मात्र आउनुभयो । बिरामीलाई ‘९ बजे नै डाक्टर आउँछन्, छिटै आउनू है’ भनेपछि डाक्टर पनि समयमा आउनुपर्ने हो ।

पालोमा टिकट हेरेर नाम बोलाउने सहयोगीले ‘डाक्टर १ दिन मात्र होइन, सधैँ यही समयमा आउनुहुन्छ, कारण थाहा छैन’ भन्नुभयो। ३२ नम्बरमा हाम्रो पालो थियो । डाक्टर आफैँ डेढ घन्टा ढिलो आएपछि त्यही समयभित्र सबै बिरामीहरूलाई राम्रोसँग जाँच्न सकिन्छ त ? हाम्रो बिरामीको भिडियो एक्सरे गराउनुपर्ने भयो।

त्यो दिन जाँच्न नै ढिलो भएकाले भिडियो एक्सरे नहुने भयो । तर, ‘अस्पताल बाहिर गएर गर्ने हो भने भिडियो एक्सरे एकछिनमै हुन्छ र रिपोर्ट पनि डाक्टरले त्यही दिन हेर्न सक्नुहुन्छ भन्नुभयो’ डाक्टर आफैँले । एउटा भिडियो एक्सरे मात्र बाहिर गराएर के गर्ने ? अरू रिपोर्टहरू त त्यो दिन आउनेवाला थिएनन्।

जसरी पनि हामीले अर्को दिन जानै पर्ने थियो । अस्पतालकै भिडियो एक्सरे गर्ने ठाउँमा गएर नम्बर लिनुपर्ने रहेछ। त्यहाँ नम्बर दिनेहरूले केही नसोधी ‘अर्को दिन बिहानै आउनू’ भने । काउन्टरमा गएर देखाउँदा नम्बर दिनेहरूले भिडियो एक्सरेको नम्बर पेइङ (बढी पैसा तिर्नुपर्ने)बाट हालेका रहेछन्। हामीलाई केही नसोधी ओपीडीबाट गएको बिरामीलाई ओपीडीबाट भिडियो एक्सरे नगराएर पेइङमा किन हाले ? जान्न मन लाग्यो । जनरलबाट भिडियो एक्सरे गराउँदा ७०० रुपैयाँ लाग्ने र पेइङबाट गराउँदा १ हजार २०० रुपैयाँ पो लाग्ने रहेछ !

एउटा बिरामीबाट ४०० रुपैयाँ वा कतिसम्म कमिसन हो ? उनीहरूको पनि गोजीमा जाने भएरै होला उनीहरूले त्यसो गरेका। लाइनमा बस्ने अर्का ओपीडीका बिरामीको पनि पेइङ भनेरै एक्सरेको नम्बर दिएर पठाएका रहेछन्। उनी पनि हामी जस्तै यस कुराबाट अनभिज्ञ रहेछन् । पछि ओपीडीको नम्बर हालेर आए । ५०० रुपैयाँ भए पनि पैसा कम तिर्नुपर्दा उनी दङ्ग देखिन्थे । ‘यो पैसाले बिरामीलाई औषधि किन्नुपर्छ’, उनी भन्दै थिए।

एक जना गरिब श्रमजीवीले दिनभरि काम गरेर ५०० देखि बढीमा १ हजार रुपैयाँसम्म कमाउँछन्। तर, आफ्नै देशको सरकारी अस्पतालभित्रै यसरी लुटिँदा उनीहरूको मनमा देशप्रति वितृष्णा पैदा हुन्छ अनि हानिन्छन् विदेशतिर। प्रत्येक दिन अस्पतालमा सयौँ बिरामीहरूको भिडियो एक्सरे गर्नुपर्छ । एउटा भिडियो एक्सरेबाट मात्र पनि कर्मचारीहरूले कति कमिसन खान्छन् होला ?

हिसाब लगाउनै गाह्रो देखिन्छ। हामीलाई जनरलबाट भिडियो एक्सरे गर्नका लागि डाक्टरले जाँचेको तेस्रो दिनमा पालो दिइयो । बढीमा आधा घन्टाभित्र भिडियो एक्सरे गरेर रिपोर्ट आइसक्ने ठाउँमा ३ दिनपछि मात्र पालो आउँछ भनियो। भिडियो एक्सरे गराउन पनि २ घन्टाजति लाइनमा बस्नुपर्‍यो। जापानबाट ल्याइएका भिडियो एक्सरे गराउने करिब आधा दर्जन मेसिनहरू बिग्रिएपछि तिनको मर्मत सम्भार नहुँदा ढिलो भएको डाक्टरहरूले बताइरहेका थिए।

बर्सेनि सवारी साधन किन्न अर्बौं रुपैयाँ छुट्याउने सरकारले बिग्रिएका मेसिनहरू बनाउन सकेको छैन। बिरामीले अस्पतालमा जहिले पनि सास्ती खेप्नुपर्छ। शिक्षण अस्पताल महाराजगन्जमा जाने धेरैजसो बिरामीहरू गरिब, श्रमिकहरू नै हुन्छन्। धनीहरू त सुविधा सम्पन्न निजी अस्पताल जान्छन्। तिनै गरिबहरूलाई जाँच्न पेइङ भन्दा पनि जनरलमै सजिलै, छोटो समयमा पालो आउने गरी जचाउन सकिने वातावरण कहिले बन्ला ?

डाक्टरले सिफारिस गरेका १० मध्ये ८ वटा औषधि अस्पतालभित्रको औषधि पसलमा छैनन् भन्ने जबाफ पाइन्छ जबकि अस्पताल परिसरभित्रै बाहिरपट्टि रहेका औषधि पसलहरूमा सजिलै पाइन्छ। अचम्मको कुरा त अर्को छ–बिरामी जाँच गर्न २ जना नाम सिफारिस गरिएका डाक्टरहरूमध्ये १ जना सिनियर डाक्टरको त्यहाँ जाँच्ने कोठाको बाहिर नाम भने ‘अन ड्युटी’ नै भनेर थियो। तर, डाक्टर अस्पतालमा नआएको झण्डै २ महिना भइसकेको त्यहाँका सहयोगीहरूले बताइरहेका थिए।

तर, पेइङमा तिनै डाक्टरसँग बेलुकी त्यहि अस्पतालमा सजिलै जाँच गराउन सकिने रहेछ। हामीलाई पनि पेइङमा आउन सुझाइरहेका थिए। सरकारले नै जनताका सेवामा समर्पित डाक्टरहरूको तलब भत्ता उनीहरूले डाक्टर बन्नकै लागि गरेको मिहिनेत र खर्चलाई हेरेर समयानुकूल बनाइदियो भने बिरामीलगायत सबैलाई सजिलो हुन्थ्यो कि !

देशका प्रत्येक निकायमा भइरहेका यी र यस्तै गतिविधिले गर्दा अर्थतन्त्र डामाडोल हुँदै गएको स्वयं सरकारमा बस्नेहरूले भनिरहेका छन्। तर, देश विकासमा उल्लेख्य सहयोग गर्ने भन्दै भोट माग्नेहरू अहिले सरकारको ढुकुटी रित्याउँदै विदेश भ्रमणमा रमाइरहेका देखिए। सरकारले नै विदेश भ्रमणका लागि मनलाग्दी स्वीकृति दिँदा मन्त्रालयलाई नै रित्तो बनाई मन्त्री, राज्यमन्त्री, सचिव, सरकारी पदाधिकारी तथा अन्य कर्मचारीहरूको जम्बो टोली नै विदेश भ्रमणमा व्यस्त छन्।

सानो देशका ७ वटा प्रदेशभित्र पनि धेरै मन्त्री, राज्यमन्त्री, सचिव, उपसचिव, नगर प्रमुख, उपप्रमुखलगायत अनेकौँ पदहरूमा भर्ना गरिएको छ। यिनीहरू सबैले सरकारी ढुकुटीबाट तलब खान्छन् र सरकारी ढुकुटीबाटै विदेश शयर गर्छन्। केही दिनअघि सरकारले आफैँ बनाएको कानुन मिचेर कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीलाई प्रधानन्यायाधीशको सेवा, सुविधा दिने निर्णय गर्‍यो। चामलको मूल्य २० प्रतिशतले बढ्नु, गहुँलगायत कतिपय खाद्यान्नको आयात ठप्प हुँदा जनता महँगीले आहत भएका छन् । तर, सरकार मनलाग्दी खर्च गर्नतर्फ उन्मुख देखिन्छ ।

बाग्मती प्रदेशमा मात्र सरकारले विगत ५ वर्षमा सवा अर्ब रुपैयाँभन्दा बढी सवारी साधन खरिद, मर्मत आदिमा मात्र खर्च गरेको छ । ७ वटै प्रदेशको खर्चको हिसाब गर्ने हो कतिपय गरिब नेपाली जनता हृदयघात भएर मर्ने अवस्था आउनेछ । यसैले त विगतमा ५ वर्षमा २०७४ सालमा प्रतिनेपालीको टाउकोमा भएको ३२ हजार रुपैयाँ ऋण बढेर २०७९ सालमा आइपुग्दा २ गुणाभन्दा पनि बढी ७० हजार रुपैयाँ पुगेको छ।

यति गर्दा पनि सरकारमा बस्नेहरूलाई खाएर पुगेको छैन। सरकारले लिएको ऋण मात्र २० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले गाडी खरिद र मर्मतका लागि १ अर्ब रुपैयाँभन्दा बढी छुट्याइसकेको छ। विगत २ महिनामा नेपालको कुल वैदेशिक व्यापारमा ९० दशमलव ५१ प्रतिशतले सामानहरू आयात गरिँदा ९ दशमलव ४९ प्रतिशतको मात्र सामान निर्यात भएको छ।

चालू आर्थिक वर्षको पहिलो २ महिनामा नेपालले साढे २ खर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ। शिक्षा क्षेत्रतर्फ त्यस्तै मनपरी देखिन्छ । एसईई, कक्षा १२ को रिजल्ट दिन प्रतिदिन खस्किँदै गएको छ । त्रिभुवन विश्वविद्यालयले ९० दिनमा प्रकाशन गर्नुपर्ने विद्यार्थीहरूको रिजल्टलाई १ वर्षसम्म पनि प्रकाशन गर्न सकिरहेको छैन । देशभरि डेंगीका बिरामीहरू बढ्ने र मृत्यु दर पनि बढ्दै गएको छ।

स्कुल तथा कलेजका विद्यार्थी तथा शिक्षकहरूमा डेंगीका गम्भीर लक्षणहरू देखिएर धेरै दिनसम्म स्कुल, कलेज जान सकिरहेका छैनन् । प्रत्येक घरमा कम्तीमा पनि १ जनालाई डेंगी भएको देखिन थालेको छ । तर, डेंगी नियन्त्रणमा सरकार लागिपरेको भने देखिँदैन । दिनमै हजारौँ पर्यटकहरू आउने पशुपति क्षेत्रमा समेत खाल्डोमा जमेको पानीमा माटो हालेर भरिएको देखिएन । लामखुट्टेका अण्डाहरू तैरिरहेका सजिलै देखिन्छन् ।

काठमाडौंमा दसैँ अगाडि उठेको फोहोर ३ साता बितिसक्दा पनि उठ्न सकेको छैन। घरबाहिर जम्मा भएको फोहोरमा भुुसुना, किराहरू परेर घरभित्रसमेत छिर्न थालिसकेका छन् । दीर्घकालिन फोहोर व्यवस्थापनमा सरकारले कहिल्यै ध्यान दिएन। अहिले आएर महानगर प्रमुख बालेन शाहको टाउकोमा फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी थुपारेका छन् । देश छाडेर विदेश सयरका लागि हानिनेहरूलाई आफ्ना जनताको ज्यानको कत्ति पनि परवाह छैन।

लामखुट्टेको वृद्धि रोक्न समाचारहरूमा यो, त्यो गर्नू भन्नेबाहेक झुल, औषधि वितरण गर्ने, लामखुट्टे मार्ने औषधि छर्किने, पानी जम्मा हुने खाल्डाखुल्डी पुर्नेजस्ता कामहरू गरेको कतै देखिँदैन। दसैँ, तिहारको समयमा शहर छाडेर घर जाने, फर्किने यात्रुहरू लाखौँको सङ्ख्यामा छन् । तर, सडकको अवस्था नाजुक हुँदा ठाउँठाउँमा ठूला दुर्घटना भएर दिनदिनै धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । समयमै सडक मर्मत सम्भारको काम हुन सकेको छैन ।

देशमा विकासका कामहरू ठप्प प्रायः छन् । भइरहेका ठाउँहरूमा पनि कमिसनबाहेक काम भएको कमै देखिन्छ। देश बनाउनेहरू कुर्सीका लागि कसरतमा लागिपरेका छन्। जनताको सुखदुःखको कसैलाई मतलब भएको देखिँदैन । अब भने आउँदो चुनावमा जनताले सही नेतालाई चुन्नै पर्छ। आफ्नो विवेक प्रयोग गर्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्