यसरी घटाउन सकिन्छ नेपालको व्यापार घाटा



  • डा. सुमनकुमार रेग्मी

काठमाडौं । कुनै वर्ष अनुकूल मौसम नभएको खण्डमा नेपालको व्यापार घाटा सोही वर्ष बढ्ने सम्भावना देखिँदै आएको छ । उदाहरणका रूपमा आ.व. २०७३/०७४ मा अनूकूल वर्षा, समयमा रोपाइँ तथा खेती, रासायनिक मलको सहज उपलब्धता, कृषि प्रविधिको बढ्दो प्रयोगलगायतका कारण कृषि फसल बढी हुन गई निकासी तथा उत्पादन बढ्न गएको देखिन्छ ।

कुनै वर्ष र कुनै जिल्लाबाट कृषि उपज निर्यात हुने गर्छ । नेपालबाट निकासी हुन सक्ने कृषि उपजहरूमा ताजा तरकारी, सुन्तला जातको फलफूल, हिउँदे फलफूल, वर्षे फलफूल, अदुवा, अलैँची, आलु, अकबरे खुर्सानी आदि छन् । तर, हरेक आर्थिक वर्ष नेपालले वैदेशिक व्यापारको असन्तुलन भोगिरहेको अवस्थामा निकासी व्यापारको अवस्था कमजोर हुँदै गएको छ ।

नेपालको निकासी व्यापार स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढ्न नसक्दा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र सङ्कटमा पर्न सक्ने अवस्था विगतमा देखिएको छ । नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरू समेत उल्लेखनीय रूपमा आयात गर्दा पनि वैदेशिक व्यापारमा नेपाल सधैँ पछाडि धकेलिँदै आएको छ ।

वैदेशिक व्यापार घाटा कम गर्नका लागि उत्पादन वृद्धिका विकल्प नभए पनि नेपालले स्वदेशमै प्रचुर मात्रामा उत्पादनको सम्भाव्यता भएका वस्तुहरूको उत्पादन वृद्धिमा सुधार ल्याउन सकिएको छैन । नेपालको कुल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन । नेपालको कुल निर्याातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन । विदेशबाट खर्बौं रूपैयाँका वस्तुहरू आयात हुँदा नेपालले एक आर्थिक वर्षमा १ खर्ब रूपैयाँका वस्तुहरू निकासी हुन सकेका छैनन् । विगत ४ वर्र्ष मध्ये आ.व. २०७०/०७१ मा सबैभन्दा बढी ९१ अर्ब रूपैयाँको निर्यात भएको देखिन्छ । नेपालले ६८ वटा देशमा निर्यात तथा ७४ वटा देशबाट सामान आयात गरेको देखिन्छ ।

राजनीतिक दलहरूका योजना र भनाइबाट मात्र समृद्धि नहुने स्पष्ट देखिन्छ । नेपालको निर्यात पछिल्ला वर्षमा आ.व. २०७०/०७१ को भन्दा कमजोर देखिएको छ । नेपालको कुल निर्यातमा अर्ब रूपैयाँमाथि निर्यात हुने वस्तुहरू १७ वटाजति मात्र छन् । ती वस्तुहरूमा अलैँची, चिया, औषधिजन्य जडिबुटीहरू, जुस, जुट ब्याग, ऊनी ब्याग, पस्मिना शल, टुथ पेस्ट, जुत्ता, फलाम तथा स्टीलजन्य वस्तुहरू, चाँदीका गहना सामान, टेक्सटाइल, कटन धागो, फेल्टलगायतका वस्तुहरू छन् ।

निर्यात प्रवद्र्धनका लागि सरकारले चर्का नारा दिए पनि कमजोर उत्पादन, बारकोड, विश्व बजारमा फितलो प्रचारप्रसार, ब्राण्डिङका कारण नेपाली उत्पादन विदेशिन नसकेको बताइन्छ । नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठ्ने गरेको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर महत्वपूर्ण कुरा हो । नेपाली उत्पादनले पहिलेदेखि नै परिमाणभन्दा गुणस्तर सुधारमा ध्यान दिँदै आउनुपथ्र्यो । नेपाल-भारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ । सरकारी नीति र प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हुँदै आएको छ । नेपाल भूपरिवेष्ठित भएका कारण उद्योगी-व्यापारीहरूले हैरानी बेहोर्दै आएका छन् ।

निकासी विकासका अनेकौँ आधार तथा सम्भावना हुन्छन् । राष्ट्रिय व्यापार रणनीति, २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडिबुटी पनि समावेश छ । तीमध्ये जडिबुटी एवं अनुसन्धान, उत्पादन एवं व्यावसायीकरण र संरक्षण एवं सदुपयोग गर्न सके आर्थिक-सामाजीक विकासमा नै सहयोग पुग्छ । वन नीति, २०७१ ले वनस्पति एवं जडिबुटीका नवीनतम प्रवृत्ति र क्षेत्रहरूलाई समेटेको छ । वन, वनस्पति र जैविक विविधता संरक्षण अभियान अगाडि बढाउन आव २०७१–२०८० लाई वन दशक घोषणा गरी एक घर, एक रूख, एक वन र एक नगर, अनेक उद्यान कार्यक्रमहरू कार्यान्वयनमा आउँदै गरेका छन् ।

बाणिज्य नीति, २०७२ ले १२ वटा वस्तुमध्ये सम्भावनायुक्त वस्तुहरूका सूचीमा जडिबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरूको सङ्कलन एवं प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न, प्रशोधन केन्द्रहरू स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरूको सुदृढीकरण तथा एक्रिडिटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउद्देश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यावसायिक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने उल्लेख छ ।

यसरी नै विविधताको अवसरलाई उपयोग गरी निर्यातजन्य वस्तुहरूका उत्पादन ततथा प्रशोधन बाह्य मागबमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भण्डारण, प्रमाणीकरणमा सहयोग पु¥याउने, निर्यात प्रवद्र्धनका लागि असल कृषि अभ्यास र प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ । समग्रमा भन्दा नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्छ । जुन वस्तु नेपालमा बृहत् रूपमा उत्पादन गर्न सम्भव छ, त्यस्ता वस्तुहरू अत्यधिक बढाउँदै लैजानुपर्छ । नेपालका कच्चा पदार्थमा आधारित औद्योगिक उत्पादनहरू बढाउँदै जानुपर्छ ।

नेपालको विश्वका १८६ वटा देशसँग वैदेशिक व्यापार हुँदै आएकामा अधिकांश देशसँग नेपालको व्यापार घाटा रहिआएको छ । नेपालमा दैनिक उपभोग्य सामग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिक रूपमा आयात हुँदा व्यापार घाटा निरन्तर रूपमा बढ्दै गएको छ । त्यसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक देखिन्छ ।

देशलाई आवश्यक परेका वस्तुहरूका आयात कल्पनै गर्न नसकेर ह्वात्त बढेको र अन्धाधुन्ध ती आयात गरिएका वस्तुहरू नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड मान्यताप्राप्त निकायको अभावमा त्यस्ता मानव हितविपरीतका वस्तुहरू सहज रूपमा आयात गर्नु नै हो भनेर ठोकुवा गरेर भन्न सकिन्छ । अर्कातर्फ, जुन उद्देश्यले नेपालमा विदेशबाट सामान आयात गरिन्छ, त्यही उद्देश्यका लागि अर्थात् उद्योगका कच्चा पदार्थका रूपमा उपयोग नभई त्यस्ता वस्तुहरूको दुरूपयोग हुनुले आयात बढ्दै गएको हो । आयात गरिएका वस्तुहरूका उद्देश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यक्तिलाई कारबाही पनि भएको देखिँदैन । अनि त सहज रूपमा नेपालमा आयात दिन दुई गुणा, रात चौगुणा बढेर गएको छ ।

भारत, चीन र अन्य देशहरूमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो । हालका वर्षमा ३० अर्ब रूपैयाँभन्दा बढीको विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धन मात्र बर्सेनि १ खर्ब ४० अर्ब रूपैयाँको खपत भइआएको छ । बर्सेनि ३२ अर्ब रूपैयाँको सुन-चाँदी र २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल सेट आयात भइरहेको छ ।

नेपालबाट सबैभन्दा बढी निकासी भएका वस्तुमा भटमासको तेल, पाम आयल, सन फ्लावर तेल देखिएका छन् । आ.व. २०७८/०७९ मा करिब १३ अर्ब रूपैयाँभन्दा बढीको पाम आयल निकासी भएको छ । त्यस्तै, ३६ अर्ब रूपैयाँभन्दा बढीको सनफ्लावर तेल निर्यात भएको छ । नेपालबाट ५३ करोड रूपैयाँभन्दा बढीको अम्रिसोको कुचो निकासी भएको देखिन्छ । वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापार भएका कारण देशको व्यापार घाटा बढ्दो छ । विगतमा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने इन्धन पदार्थ आयात अत्यधिक हुँदै आएको छ ।

निर्यातजन्य वस्तुको पहिचान, प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकारहरूको भनाइ छ । व्यापार घाटा टिठलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता छ । देशको एक आर्थिक वर्षको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रवद्र्धन गर्नु सख्त आवश्यकता देखिन्छ ।

व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रवद्र्धनमा सघाउ गराउन कााम अघि बढाउन आवश्यक देखिएको छ । नेपालले पेट्रोलियम पदार्थ, फलाम, स्टील, धातुजन्य पदार्थ, सुन आदिलगायत वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक १ खर्ब रूपैयाँको खाद्यान्न आयात गर्नुपरेको अवस्था छ ।

सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैँची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ । हालका वर्षमा पेट्रोल मात्र २५ अर्ब रूपैयाँभन्दा बढीको आयात भइआएको छ । सुनको आयात पनि त्यतिकै हुुने गरेको छ । सम्भावना रहेका पस्मिना, गलैँचा जस्ता वस्तुका उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको बाह्य बजार सहभागी अंश कमजोर हुँदै छ । अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन र निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता छ।

नेपालको वैदेशिक व्यापारमा निर्यात–आयात अनुपात बर्सेनि बढेर गएको छ । विश्व बजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ । त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ । राजनीतिक दलहरूको ध्यान पनि व्यापार घाटातर्फ गएको देखिँदैन किनभने देशमा सधैँ व्यापार घाटा भइरहेको छ । तर, उनीहरू प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन् ।

नेपालमा करौडौँ रूपैयाँ मात्र होइन, अर्बाैं-खर्बौं रूपैयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ । प्रत्येक वर्ष नेपालले आफ्नो वार्षिक बजेट बराबरभन्दा बढी रकमको व्यापार घाटा बेहोर्दै आएको छ । नेपालको व्यापार घाटा वार्षिक ९ खर्ब रूपैयाँ नाघिसकेको छ तर पछिल्ला वर्ष अझ व्यापार घाटा बढेर गएको छ । भनिन्छ कि मानिसहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको हो ।

यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजाने हो भने जुन वस्तु तथा सेवामा नेपाल परनिर्भर छ, त्यस्ता वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्छ । यसका लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ अनि मात्र देशको व्यापार घाटा घट्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्