नेपाली राजनीतिमा दुर्योधन प्रवृत्ति



  • गोविन्दशरण उपाध्याय

काठमाडौं । नेपाली राजनीतिले दुर्योधनको प्रतिनिधित्व गरिरहेझैँ लाग्छ । दृष्टिविहीन धृतराष्ट्रले आफ्ना दमित इच्छाहरू पूरा गर्न दुर्योधनलाई प्रयोग गरिरहेका थिए । उनी दुर्योधनलाई राम्रो बाटो हिँड्न र पाण्डवप्रति सदाचार प्रकट गर्न आदेश दिन्थे तर आन्तरिक रूपमा दुर्योधनको हठी व्यवहार उनलाई निकै मनपथ्र्यो ।

धृतराष्ट्रको दमित इच्छाअनुरूप नै दुर्योधनले काम गरेका हुन् भन्ने प्रमाणचाहिँ भीमको ढुङाको मूर्तिलाई रिसले चकनाचुर पारेबाट पनि प्रकट हुन्छ ।महाभारत युद्धका थुप्रै सन्दर्भ नेपाली राजनीतिमा हुबहु मिलेझैँ लाग्छ किनभने हाम्रो देशका अनेक राजनीतिकर्मीहरूका बारेमा गहन खोजी गर्दै जाने हो भने स्वार्थ र इष्र्याले भरिएको देखिन्छ ।

महाभारत युद्धको प्रमुख कारण पनि इष्र्या नै थियो । दुर्योधनले पाण्डवहरूको सन्त स्वभाव र सिकाइमा सधैँ सफल हुने देखेर डाहा गरे । अरू कुनै उपायले पाण्डवहरूको हत्या गर्न नसकेपछि युधिष्ठिरलाई प्रयोग गरेर (जुवामा) सबै सम्पत्ति कब्जा गरे, द्रौपदी (आफ्नै भाउजू)लाई सबै सभासद्का अगाडि नाङ्गो बनाउने प्रयत्न गरे ।

अन्ततः पाण्डवहरूलाई वनवास पठाएपछि पनि दुर्योधनको इष्र्यालु स्वभाव समाप्त भएन । वनवासी पाण्डवहरूको चियोचर्चो गर्ने र एक पटक त हत्या गर्ने प्रयत्नसम्म गरे । महाभारतको युद्धको अन्त्यमा अर्थात् मर्नुअघि दुर्योधनले पनि श्रीकृष्ण, पाण्डव र आफ्ना बाबु धृतराष्ट्रलाई दोष दिएर मरे । महाभारतकार व्यासले दुर्योधनलाई यो ठाउँमा ‘सुयोधन’ शब्द प्रयोग गरेर सम्मान गरेका छन् किनभने दुर्योधनले आफ्ना स्वभावका लागि पितालाई दोष दिएर सत्य कुरा ओकलेका थिए ।

यसैगरी एक पटक कृष्णले सम्झाउँदा उनले भनेका थिए ‘कृष्ण ! मैले धर्म र अधर्मको भेद राम्ररी जानेको छु तर के गर्नु, मेरो स्वभावले धर्मतिर जाने बाटो रोक्छ, मैले चाहेर पनि आफूलाई अधर्मबाट रोक्न सक्दिनँ ।’यस अर्थमा यस देशका राजनीतिकर्मीहरू दुर्योधन सरह देखिन्छन् । यी राजनीतिकर्मी र दलहरूले कुन र कहाँका धृतराष्ट्रका दमित इच्छाहरू पूरा गर्ने अभियान चलाइरहेका छन् भन्ने कुरा खोजी गर्ने काम पाठकहरूकै हो ।

पुँजीवादीहरूको सीमारहित लोभ र समाजवादीहरूको सीमाहीन इष्र्यालु स्वभावको सामूहिक अभिशाप नेपाललाई परेको छ । अदृष्य धृतराष्ट्रहरूका दमित इच्छाहरू पूर्ति गर्न क्रियाशील दुर्योधनलाई नेपालको गौरव, मौलिकता तथा उन्नतिको सूत्र थाहा छ तर यी बाध्य छन् । मृत्युपछि पनि धृतराष्ट्रहरूलाई खुसी पार्न केही बाँकी राखेका छैनन् ।

विश्व रङ्गमञ्चमा द्रौपदी (नेपाल)लाई नाङ्गेझार बनाउन छाडेका छैनन् । धर्म, संस्कृति, मौलिकता, गौरवमय परम्परा तथा सभ्यता उपर सिधा प्रहार गरिरहेका छन् ।सबैभन्दा खेदजनक कुरा के हो भने, सभासद्का रूपमा रहेका नेपाली जनता बहुमतको भोट खसालेरमेत निर्बल हुँदै धृतराष्ट्रहरूलाई समर्थन गरिरहेका छन् ।

आजभोलि नेपाली राजनीतिको धरातलमा जुन क्रियाकलापहरू हुँदै छन्, ती सबैले नेपाल (द्रौपदी)लाई नाङ्गो पार्ने काम गरेझैँ देखिन्छ । यो कुरा बुझ्नुपर्छ । हो, आफ्नी प्रिय पत्नीलाई दाउमा लगाउने युधिष्ठिर गतार्थ भइसकेका छन् । दुशासनको छाती चिरेर रगत खाने समय नै होइन र अर्जुनहरूले द्रौपदीको चीरहरण हुँदा टुलुटुलु हेरेर बस्नुको पनि कुनै औचित्य छैन ।

हामीले पुँजीवाद र साम्यवादको ठिमाहा सन्तान बनेका दुर्योधनलाई परास्त गर्ने ‘गदा’ प्राप्त गरिसकेका छौँ । त्यो गदा के हो र त्यसको प्रयोग कसरी गर्ने हो भन्ने पनि सिकाएका छौँ । लडाइँ चलिरहेको छ, दुर्योधनहरूको अन्त्य हुनै पर्छ र द्रौपदीको चीरहरण रोकिनुपर्छ । अतिइष्र्या र अतिलोभको अन्त्य नभएसम्म द्रौपदीको चीरहरण रोकिँदैन । यो रोक्ने बौद्धिक हतियार हामीसँग छ, खोजौँ, प्रयोग गरौँ र परास्त गरौँ ।

प्रतिक्रिया दिनुहोस्