डिजिटल करेन्सीबाट ठगिने कि जोगिने ?



  • विनोद अधिकारी

काठमाडौं । पैसाले अहिलेको समयमा यति महत्व पायो कि अब मानव जीवनको निम्ति प्राणपछिको प्रिय वस्तु सम्भवतः पैसा नै हुन पुगेको छ। यथार्थमा पैसा वस्तु विनिमयको साधन हो र यसले जीवनपद्धतिलाई धेरै सजिलो बनाइदिएको छ। भौतिक रूपमा प्रयोग गरिँदै आएको त्यही पैसा अब क्रमशः विद्युतीय मुद्राको रूपमा परिणत हुँदै गएको छ र यसलाई ‘डिजिटल करेन्सी’ भन्ने गरिएको छ।

विद्युतीय स्वरूपमा प्राप्त गरिने मुद्रा डिजिटल करेन्सी हो। यसैलाई डिजिटल मनी, इलोक्ट्रोनिक मनी, साइबर क्यास आदि पनि भनिन्छ। यो अभौतिक मुद्रा हो। यो देखिँदैन तर विद्युतीय विधिबाट यसको कारोबार भने गरिन्छ। फिजिकल करेन्सी भनेको देखिने भौतिक मुद्रा (नोट तथा सिक्का) हो, जसको लेनदेन भौतिक स्वरूपमै हुन्छ।

वास्तवमा पैसा मानवसँगै जन्मिएको होइन। मानव विकासको क्रमसँगै विकास भएको वस्तु विनिमय प्रणाली (बार्टर सिस्टम) सजिलो उपजको रूपमा आविष्कार भएको वस्तु हो। समयसँगै यसका रूप फेरिएका छन्। यसको कारोबार गर्ने, प्रयोग गर्ने तरिका पनि फेरिएका छन् । त्यसैको फलस्वरूप अहिले ए.टी.एम. कार्ड, क्यू.आर. कोड, पि.ओ.एस. जस्ता विभिन्न माध्यमबाट पैसाको कारोबार हुन थालेको छ।

इसापूर्व ५०० देखि नेपालमा पैसाको चलन आएको बुझिन्छ । सुरुमा सिक्का पैसा वस्तु विनिमयको माध्यम बन्यो। सुरुको अवस्थामा सिक्काहरू माटाका भएको तथ्य भेटिन्छ। टिकाउ र प्रयोग गर्न अझ सजिलो बनाउने क्रममा सिक्काहरू धातुबाट बनाउन थालिए । यस्ता धातुका सिक्काहरू गह्रौँ हुने भएकाले ढुवानी गरी यत्रतत्र पु¥याउन सजिलो होस् भनी बीचमा प्वाल भएका सिक्काहरू प्रचलनमा ल्याइएको विषय पनि नेपाली सिक्काहरूको इतिहासबाट स्पष्ट हुन्छ।

समयको परिवर्तनसँगै नेपालमा पैसाको प्रयोगलाई सहज बनाउन विक्रम सम्वत् २००२ देखि सिक्काका साथसाथै कागजी नोटको पनि सुरुआत भयो। अहिले नेपालमा साना दरका सिक्का पैसाहरूको केही प्रयोग भइरहेको भए पनि मूलतः भौतिक मुद्रा (फिजिकल करेन्सी)को रूपमा नोटहरूकै चलन छ । यसका साथै सूचना प्रविधिको तीव्र विकासका कारण विद्युतीय मुद्राको प्रयोग दिनानुदिन बढ्दै गएको छ।

नेपाल सरकारले पनि विद्युतीय मुद्राको प्रयोगलाई बढावा दिँदै आ.व. २०७९/०८० को बजेटमा वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमा आधारित बनाइने र पूर्ण डिजिटल बैंक स्थापना गर्न आवश्यक व्यवस्था मिलाइने कुरा उल्लेख गरेको छ। सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटको अवस्थापछि संसारमा डिजिटल बैंकहरू खुल्न थालेका र सन् २०१४ पछि बढ्दो क्रममा रहेका देखिन्छ । कोरोनाको महामारीले डिजिटल बैंकिङ कारोबारमा मानिसको चासो र सहभागिता बढाउन झन सहयोग पुर्‍यायो ।

अहिले संसारभरि यसको प्रयोग ह्वात्तै बढेको छ । नेपालको सन्दर्भमा गत वर्ष २०७८ मङ्सिरको तथ्याङ्कलाई आधार मान्दा करिब ४ हजार ५०० ए.टी.एम. काउण्टर छन् र १ करोड हाराहारीमा ए.टी.एम. कार्डहरू वितरण भएका छन् । ३ करोड ९४ लाख बैंक खाता छन् र आधाभन्दा बढीले मोबाइल बैंक प्रयोग गर्ने गरेका छन्।

विद्युतीय बैकिङको माध्यमबाट अहिले रजिष्ट्रेसन तथा सेवा शुल्कहरू, सवारी कर, जरिमाना आदि भुक्तानी गर्न मिल्छ । शिक्षण संस्था, होटल, रेस्टुरेन्ट, हवाई तथा बस, रेल, सिनेमा आदिका शुल्क तिर्न तथा टिकटहरू किन्न पनि विद्युतीय विधिबाटै मिल्छ ।

बिजुली, पानी आदिको बिल भुक्तानीदेखि खाद्यान्न, लुगाफाटा, औषधिलगायतका वस्तुहरू किनमेल गर्दाको पैसाको भुक्तानी पनि यही विधिबाट गर्न सकिन्छ । त्यसैले पनि यसको प्रयोग निरन्तर बढ्दो छ । विद्युतीय माध्यमबाट गरिने कारोबारले समयको बचत हुने, पैसाको सुरक्षा हुने, वित्तीय गोपनीयता कायम हुने, कारोबारमा पारदर्शिता हुने, सेवा विश्वसनीय तथा छिटो छरितो हुने, कारोबारको अभिलेख हुनेजस्ता धेरै फाइदाहरू छन् ।

पैसाको कारोबार वा लेनदेनसम्बन्धी आपराधिक क्रियाकलापहरूको न्यूनीकरण गर्न, नोटको छपाइ खर्च र देशका विभिन्न ठाउँमा नोटहरूको ढुवानी गर्न लाग्ने खर्चको बचत गर्न पनि यसले सहयोग पुर्‍याएको छ । त्यसैले विद्युतीय विधिबाट गरिने पैसाको कारोबारले देशको समुन्नति/समृद्धि प्राप्तिमा ठूलो योगदान पुर्‍याउन सक्छ ।

डिजिटल बैंकिङका धेरै फाइदाहरू छन् तर यसको प्रयोगका लागि केही कुरा वा शर्तहरू पनि आवश्यक पर्छन्, जसलाई यसका चुनौतीका पक्षहरू पनि भन्न सक्छौँ। जस्तै : यसको प्रयोगका लागि केही प्राविधिक ज्ञान, सीपको आवश्यकता पर्छ। त्यसैले सामान्य पढलेख गर्न नसक्ने मानिसहरूको लागि समस्या आउन सक्छ।

नेटवर्किङको क्षमता भएका मोबाइलहरू वा कम्प्युटरको पनि आवश्यकता पर्छ । यसको अर्को अपरिहार्य पक्ष भनेको नेटवर्क अर्थात् इन्टरनेट प्रणाली हो । इन्टरनेट नहुँदा सामान्य एस.एम.एस.बाहेक अन्य सेवा लिन सकिँदैन ।

भौतिक पैसा अर्थात् नोट वा सिक्काको प्रयोगमा बानी परिरहेको अवस्थामा डिजिटल कारोबारप्रति विश्वास जगाउन आवश्यक चेतना विस्तार गर्नुपर्ने हुन्छ । कारोबार गर्दा भूलवस रकम बढी वा कम हुन (पोस्ट हुन) गयो भने, कम हुँदा असमझदारी वा झगडा हुने र बढी हुन गएको बेला फिर्ता नपाइने अवस्था आउन सक्छ ।

व्यक्तिगत कारोबारमा यस्ता समस्या धेरै देखिन सक्छन्। पारिवारिक आयव्यय अर्थात् पैसाको कारोबारमा परिवारका सदस्यबीच एकअर्काप्रतिको सुझबुझ र विश्वास भएन भने परिवारमै आर्थिक मनमुटाव आउन सक्छ। पैसाको कारोबार सहजै गर्न सकिने हुनाले ऐच्छिक अर्थात् रहरका खर्चहरू बढ्ने र बचतमा कमी आउने सम्भावना हुन्छ।

गलत नियत भएका मानिसहरूले आफ्नो खाताबाट पैसा झिकिदिने (ह्याक गर्ने) कारोबारको अङ्क बिगारी ठगी गर्नेजस्ता चुनौती यसका आउन सक्छन्। यस्ता कुराहरूले गर्दा पैसाको डिजिटल कारोबारमा ढुक्क हुन पाउने अवस्था छैन बरु यसका लागि केही सावधानीहरू अपनाउन भने अवश्य पर्छ।

पैसाको डिजिटल कारोबारका लागि एक पटक, एक दिन वा एक महिनामा कति कारोबार गर्न पाइन्छ भन्नेबारेमा त्यसका सीमा पनि तोकिएका छन्। यस्तो कारोबारलाई व्यवस्थित गर्न वित्तीय बजारको अवस्थालाई विश्लेषण गरेर नेपाल राष्ट्र बैंकले बेलाबेलामा आवश्यक सूचना तथा निर्देशनहरू जारी गरेको हुन्छ। त्यसैले कारोबार गर्नुअघि त्यस्ता सूचना तथा निर्देशनका बारेमा आवश्यक जानकारीहरू लिइरहनुपर्छ।

पैसाको डिजिटल कारोबारमा केही जोखिमहरू पनि आउन सक्ने भएकाले त्यसमा सहभागी हुँदा आवश्यक केही कुराहरूमा ध्यान दिनु तथा सावधानी अपनाउनु अनिवार्य छ । यस सम्बन्धमा नेपाल राष्ट्र बैंकले सूचना जारी गरेको छ, जसअनुसार अपरिचित र आफूलाई विश्वास नभएको व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड वा ओ.टी.पी. (पैसाको विद्युतीय कारोबारका लागि बैंक, वित्तीय संस्थाले दिने गोप्य पासवर्ड) जानकारी गराउनुहुँदैन ।

पैसाको कारोबार गर्न प्रयोग हुने एपमा प्रयोग हुने पासवर्ड बेलाबेलामा परिवर्तन गरिरहनुपर्छ। सामाजिक चिनजानका मान्छेको नाममा रकम माग गर्ने, कसैले फोन गरेर वा बैंकबाट फोन गरेको भनी इन्टरनेट अथवा मोबाइल बैंकिङको युजरनेम, पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ठगी गर्नेजस्ता कुराबाट बच्न विशेष ध्यान दिनुपर्छ। एस.एम.एस.मार्फत ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्नेजस्ता काम पनि हुने भएकाले त्यसमा सजग हुनुपर्छ। अनावश्यक, अनधिकृत एपहरू आफ्नो मोबाइलमा डाउनलोड गर्नुहुँदैन।

कसैले रकम भुक्तानी गर्ने बहानामा क्यू.आर. कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको भए त्यसलाई शङ्कास्पद रूपमा लिनुपर्छ किनभने रकम भुक्तानी लिन त्यस्तो कोड र पासवर्ड आवश्यक हुँदैन । वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नु अगाडि त्यो वेबसाइट आधिकारिक हो कि होइन, राम्ररी बुझ्नुपर्छ । सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे/नगरेको बेहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनुपर्छ।

पैसाको विद्युतीय कारोबार सम्बन्धमा माथि उल्लेख भएका र अन्य कुनै त्यस्तै कुरामा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्थामा आफ्नो समस्याका बारेमा जानकारी गराउन, गुनासो वा उजुरी दर्ता गर्न सकिन्छ। साथै, नेपाल राष्ट्र बैंकबाट बेलाबेलामा विभिन्न वित्तीय सूचना तथा निर्देशनहरू जरी भइरहने हुनाले त्यसप्रति चासो राख्ने र अद्यावधिक भइरहने बानीले पैसाको विद्युतीय कारोबारबाट ठगिन वा दुःख पाउनबाट बच्न सकिन्छ।

विद्युतीय कारोबार समयको माग भइसकेको छ, अतः यसका बारेमा आवश्यक ज्ञान, सीप हासिल गर्न र यसको उचित प्रयोग गरी आफ्नो पैसाको कारोबारलाई सजिलो बनाउन सबैका लागि अनिवार्य भएको छ ।

(‘आईएनएस–स्वतन्त्र समाचार’बाट)

प्रतिक्रिया दिनुहोस्