जलवायु परिवर्तनका प्रभाव र समाधान



  • डा. केदार कार्की

काठमाडौं । ग्लोबल वार्मिङ जीवांश इन्धनको दोहन र प्राकृतिक संसाधनहरूको अत्यधिक प्रयोगका कारण जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ। यदि जलवायु परिवर्तनलाई समय रहँदै रोक्न सकिएन भने लाखौँ मानिस भोकमरी जल सङ्कट बाढी जस्ता विपद्हरूको सिकार हुनेछन्।

यो सङ्कटले पूरा विश्वलाई प्रभावित गर्नेछ। यद्यपि, जलवायु परिवर्तनको सबैभन्दा बढी असर गरिब देशहरूलाई पर्नेछ। जो जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार छन्। पिछडिएका र कम विकसित देशहरूमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको खत्रा बढी हुनेछ।

जलवायु परिवर्तनले आर्कटिक क्षेत्र, अफ्रिका र साना द्विपहरूलाई बढी प्रभावित गरिरहेको छ। उत्तरी धु्रव आर्कटिक बाँकी दुनियाँको तुलनामा २ गुणाका दरले तातो हुँदै छ। वैज्ञानिकहरूका अनुसार आगामी केही वर्षहरूमा ग्रीष्म ऋतुका बेला उत्तरी धु्रवको हिउँ पग्लिनेछ।

पछिल्ला १०० वर्षमा अन्टार्कटिकाको तापमानमा २ गुणा वृद्धि भएको छ। यसका कारण अन्टार्कटिकाको बरफिलो क्षेत्रमा पनि कमी आएको छ। यस प्रकार त्यहाँको परिस्थितिका हुने परिवर्तनका कारण त्यहाँ उपस्थित सबै खाले जीव पनि प्रभावित भएका छन्।

यदि तापमानमा वृद्धी यसरी नै भइरह्यो भने यस शदीको अन्त्यसम्म एल्प्स पर्वत शृङ्खलाका लगभग ८० प्रतिशत हिम नदी पग्लेर जानेछन् । हाम्रालागि यो चिन्ताको विषय छ कि हिमालय क्षेत्रका हिम नदी विश्वका अन्य क्षेत्रहरूका हिम नदीभन्दा बढी तेजले पग्लिँदै छन् । धर्तीको तापमानमा वृद्धिका कारण हिम नदी र धु्रवीय प्रदेशहरूको हिउँ पग्लिने क्रम बढ्दै छ, जसको परिणाम महासागरहरूको जलस्तर औसत २७ सेन्टिमिटर माथि उठिसकेको छ ।

जलवायु वैज्ञानिकहरूका अनुसार यदि वायुमण्डलमा ग्रिन हाउस ग्यासहरूको वृद्धिको शिलशिला जारी रह्यो भने धर्तीको तापमानमा वृद्धि हुँदै जानेछ, जसको परिणाम हिम नदी र धु्रवीय क्षेत्रहरूको हिउँ पग्लिने क्रम बढ्नाले सागर तटीय इलाकाहरू डुब्ने जोखिम बढ्नेछ र महासागरहरूको बढ्दो जलस्तरले माल्दिभ्स जस्ता धेरै द्विपहरूलाई डुबाउनेछ। यसबाहेक कार्बन डाइअक्साइडको बढ्दो मात्राका कारण महासागरीय परिस्थितिका तन्त्र पनि प्रभावित भएका छन् ।

आज महासागरीय पानीमा अम्लीयपनाको मात्रा बढ्दो छ, जसका कारण महासागरमा बसोवास गर्ने जीवहरूमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाहेक महासागरहरूको कार्बन डाइअक्साइड सोस्ने क्षमता पनि दिनदिनै कमी भइरहेको छ । प्रदूषणका कारण परिस्थिति तन्त्रलाई धेरै नोक्सानी हुन्छ । यस कारण पृथ्वीमा व्यापक उथलपुथल हुन सक्छ।

भविष्यमा यदि तापमानमा वृद्धि धेरै तेजले हुन लाग्यो भने यसको परिणाम धेरै भयानक हुन सक्छ । तापमानमा मात्र १–२ डिग्री सेल्सियसको अन्तरका कारण पनि धर्तीका अनेक भागहरूमा कृषिमा व्यापक परिवर्तन हुन सक्छ । पशु चौपाया चरनका लागि उपलब्ध क्षेत्रहरूमा परिवर्तन हुनुका साथै पानीको उपलब्धतामा पनि यसको प्रभाव पर्नेछ तथा यसको परिणाम स्वरूप ठूलो सङ्ख्यामा मानिसहरू पलायन हुनेछन् । हाम्रो आफ्नो परिवेशमा पूर्वी पहाडका ताप्लेजुङ, पाँचथरतिर यस्तो सङ्केत देखिन थालेको छ।

जलवायुजनित खडेरी र बाढीका कारण ठूलो मात्रामा पलायन हुँदा सामाजिक सन्तुलन बिग्रनेछ । यसको परिणाम अस्थिरता र हिंसाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय असुरक्षा पैदा हुनेछ। जलवायु परिवर्तका कारण उत्पन्न खाद्यान तथा पानीको कमीले विश्वव्यापी अशान्ति फैलिनेछ, जसको चपेटमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन पनि पर्नेछ। ‘जलवायु परिवर्तन खाद्य सुरक्षाका लागि खतरा’ शीर्षकको एक प्रतिवेदनअनुसार आउँदा दशकहरूमा जलवायु परिवर्तनले धेरै समुदायहरूको आपसी तालमेललाई प्रभावित पार्नेछ।

जलवायु परिवर्तनको प्रभाव विश्वका समस्त क्षेत्रहरूमा देखापर्नेछ । नेपाल पनि जलवायु परिवर्तनको दुष्परिमाणबाट बच्नेछैन। पृथ्वीको बढ्दो तापमानका कारण नेपाललाई पनि अनेक समस्याहरूको सामना गर्नुपर्नेछ । यस्तो अनुमान पनि गरिन्छ कि यस शताब्दीको अन्त्यसम्म नेपालमा औसत तापमानमा ४ डिग्री सेल्सियसले वृद्धि हुनेछ।

हालको दशकहरूमा ग्रिन हाउस प्रभावका कारण अनेकौँ क्षेत्रहरूमा औसत तापमानमा बढोत्तरी भएको पाइएको छ। वैज्ञानिकहरूको भविष्यवाणीअनुसार सन् २०२० सम्म पूरै विश्वको तापमान पछिल्ला १०० वर्षहरूको तुलनामा सर्वाधिक हुने भन्ने थियो। इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्जले सन् १९९५ मा भविष्यवाणी गरेको थियो कि यदि अहिलेकै प्रवृत्ति जारी रह्यो भने २१औँ शताब्दीमा तापमान मा ३ दशमलव ५ देखि १० डिग्री सेल्सियससम्म वृद्धि हुनेछ।

२०औँ शताब्दीमा विश्वको सतहको औसत तापमान ० दशमलव ६ डिग्री सेल्सियससम्म बढेको छ । वैश्विक स्तरमा सन् १९९८ सबैभन्दा तातो दशक थियो, जसले यो सावित गर्छ कि हरित गृह प्रभावको परिणाम स्वरूप जलवायु परिवर्तनको युग आरम्भ भइसकेको छ । जलवायु परिवर्तनका अनेक परिणाम हुनेछन्, जसमध्ये धेरैजसो हानिकारक हुनेछन्।

जलवायु परिवर्तनको परिणाम स्वरूप विश्वमा मनसुनी क्षेत्रहरूमा वर्षामा वृद्धि हुनेछ, जसले गर्दा बाढी, भू–स्खलन जस्ता समस्या उत्पन्न हुनेछन्। जलको गुणवत्तामा गिरावट आउनेछ । ताजा जल आपूर्तिमा गम्भीर प्रभाव पर्नेछ। खडेरी र बाढीको बेला पिउने र लुगा धुने स्वच्छ पानीको उपलब्धता कम हुनेछ। दुवै स्थितिमा कृषि उत्पादनमा विपरीत प्रभाव पर्नेछ । पानी प्रदूषित हुनेछ र जल निकास व्यवस्थामा हानि पुग्नेछ।

जलवायु परिवर्तनको प्रभाव मानवीय स्वास्थ्यमा पनि पर्नेछ। विश्व स्वास्थ्य सङ्गठनको रिपोर्टअनुसार जलवायुमा उष्णताका कारण स्वास तथा मुटुसम्बन्धी बिरामीहरूमा वृद्धि हुनेछ। विश्वका विकासशील देशहरूमा झाडा–पखाला, आउँ, हैजा, क्षयरोग, पित ज्वरो तथा मौसमी ज्वरो जस्ता सङ्क्रामक रोगहरूको बारम्बारतामा वृद्धि हुनेछ किनकि रोग फैलाउने रोगबाहकहरूको विस्तारमा तापमान र वर्षाको महŒवपूर्ण भूमिका हुन्छ।

अतः दक्षिण अमेरिका तथा दक्षिण–पूर्वी एसियामा लामखुट्टेहरूबाट फैलिने रोगहरू मलेरिया, डेंगी, पित ज्वरो, जापानी इन्सेफालाइटिसको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरूको विस्तार अमेरिका तथा युरोपका देशहरूमा पनि हुनेछ।

हाम्रो आफ्नो परिवेशमा पनि हिमाली, उच्च पहाडी, मध्यपहाडी क्षेत्रका सोलुखुम्बू, दार्चुला, धादिङ, काठमाडौंमा जापानी इन्सेफालाइटिस डेंगी देखिनाले यसलाई पुष्टि गर्छ । जलवायु परिवर्तनको फलस्वरूप रोगाणुहरूमा मात्र वृद्धि नभई यिनका नयाँ प्रजातिको पनि उत्पत्ति हुनेछ, जसको परिणाम स्वरूप बालीनालीको उत्पादनमा विपरीत प्रभाव पर्नेछ।

बालीनालीका किरा, फट्याङ्ग्रा जस्ता रोगाणुहरूबाट सुरक्षा निम्त्याउने किटनाशकहरूको उपयोगको दर बढ्नेछ, जसबाट वातावरण प्रदूषित हुनेछ साथै स्वास्थ्यमा पनि विपरीत प्रभाव पर्नेछ । यस प्रकार यो भन्न सकिन्छ कि जलवायु परिवर्तन एक गम्भीर वैश्विक समस्या हो, जसको परिणाम स्वरूप सम्पूर्ण विश्वमा ठूलो परिणाममा उथलपुथल हुनेछ । जलवायु परिवर्तनका कारण विश्वमा द्विपहरूको अस्तित्व समाप्त हुनेछ ।

वैश्विक जलवायु परिवर्तनका दुष्प्रभावहरूलाई हेर्दा यस समयको सबैभन्दा ठूलो आवश्यकता यो छ कि हरित गृह प्रभावका लागि उत्तरदायी ग्यासहरूको उत्सर्जनमा रोक लगाउन पर्नेछ, जसले गर्दा वैश्विक ताप वृद्धिमा प्रभावकारी नियन्त्रण हुन सकोस् तथा विश्वलाई जलवायु परिवर्तनका सम्भावित जोखिमबाट बचाउन सकियोस् । आज बढ्दो मानवीय गतिविधिहरू तथा आवश्यकताहरू पूर्ति, प्राकृतिक संसाधनहरूको अन्धाधुन्ध प्रयोग यी समस्याहरूको मूल जरो मानिन्छ।

यिनको उपयोग समुचित तथा सन्तुलित मात्रामा गरिनु आवश्यक छ। अन्यथा भविष्यमा हुन सक्ने हानिलाई टार्न सकिँदैन । यसैले हामी सबैले एक जिम्मेवार नागरिकका रूपमा पर्यावरण परितन्त्रलाई स्वच्छ एवं स्थायी बनाई राख्नमा आफ्नो भूमिका निभाउनुका साथसाथै पर्यावरण जागरुकतालाई जनसमुदायसम्म पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्