अनपेक्षित प्रतिरोध र प्रतिशोध



काठमाडौं । ‘नेता’ समाजका अगुवा हुन् । राष्ट्रका सञ्चालक हुन् । उनीहरूमा विशेष क्षमता, दक्षता, गुण र कौशलको अपेक्षा हुने गर्छ । समाजलाई सही दिशा दिने, अभिभावकत्व प्रदान गर्ने, राष्ट्रको ‘स्टेरिङ’ चलाउने र उन्नत, व्यवस्थित, समृद्ध, गौरवशाली समाज, राष्ट्र बनाउने हात र जिम्मेवारी उनीहरूमै हुन्छ । यसर्थ पनि नेताप्रतिको सम्मान र विश्वास अनि भरोसा आमजनको हुने गर्छ ।

राजनीतिक नेतृत्व हाट बजारमा चटक देखाउने चटके होइनन् । जनता कठपुतली पनि होइनन्, जो नेताका हातले आफूखुसी नचाऊन् । तर, हामीकहाँ राजनीतिक नेतृत्वमा खास गुण, योग्यता, दक्षता र क्षमता पाउन गाह्रो भएको छ । हाम्रा राजनीतिक नेतृत्वमा देखिँदै आएको प्रवृत्ति टिठलाग्दो मात्र छैन, लाजलाग्दो पनि छ । चुनावमा एजेन्डामार्फत मतदाता आफ्नो पक्षमा पार्नुपर्ने बेला पछिल्ला दिन दलका कार्यकर्ताबीच भौतिक आक्रमणको क्रम बढेको छ । यो भनेको एजेन्डाबाट प्रभावित पार्न नसकेपछि प्रतिस्पर्धीलाई कमजोर बनाउन गरिएको एउटा घीनलाग्दो अस्त्र मात्र हो । यसमा सम्बन्धित दलहरूले तत्काल लगाम लगाउनुपर्छ ।

अबको ४ दिनमा मतदान हुँदै छ देशभर । केही दिनयता नेताहरू देश दौडाहामा छन् आफ्ना पक्षमा मत माग्न । धेरैजसोले आफ्ना पार्टीका घोषणापत्र/प्रतिबद्धतापत्र जारी गरेका छन् । तर, उदेकलाग्दो अनि दिक्दारीपूर्ण कुरा, धेरैजसो शीर्ष भनिएका राजनीतिक दल र तिनका नेतृत्वका अभिव्यक्ति गालीगलौज र आलोचनामा केन्द्रित छन् भने कार्यकर्ता भौतिक आक्रमणबाट विपक्षी तर्साउने अभियानमा ।

निर्वाचन भनेको मत जित्ने प्रणाली हो । मानिसको मत डर, त्रास, धम्की, गाली वा आलोचनाले मात्र जितिँदैन । अझ आजको समय हिजो जस्तो छैन । मतदाता साह्रै अबुझ वा सिधासाधा छैनन् आज । सूचना, प्रविधि र राजनीतिक जागरणका कारण मतदातामा पनि केही राजनीतिक÷सामाजिक प्रशिक्षण अवश्य भइसकेको छ । गाली, आलोचना, अतिप्रशंसा वा अतिशयोक्तिपूर्ण अभिव्यक्ति सामान्य जनले पनि छुट्याउन सक्छन् ।

यसर्थ, राजनीतिक नेतृत्वले आफूलाई सच्याउन अब जरुरी छ । आमजनलाई २५-३० वर्षअघिकै आँखाले हेरेर झूट, बेइमान, गालीयुक्त, अतिआलोचनात्मक अभिव्यक्ति दिएर आमजनको मत आकर्षित गर्न सकिँदैन भन्ने बुझ्नु आवश्यक छ । एकअर्कालाई गाली गलोज गरेर वा आलोचना गरेर जगलाई हँसाउनु असल, कुशल र इमान्दार नेतृत्वको गुण र कौशल दुवै होइन । उम्मेदवार र कार्यकर्ताबाट गाली र आक्रमण होइन, एजेन्डाको अपेक्षा मतदाताले गरेका छन् । यसमा उम्मेदवारहरू खरो उत्रन सकून् ।

प्रतिक्रिया दिनुहोस्