असोजसम्म सरकारका खातामा करिब २ खर्ब नगद मौज्दात



काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो ३ महिनासम्म सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा सो रकम बराबरको मौज्दात रहेको छ। २०७९ असार मसान्तसम्म ती खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात रहेको थियो।

यसबीचमा प्रदेश सरकारहरुले ३४ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्रोत प्राप्ति गरेका छन्। उनीहरुको खर्च भने २० अर्ब ९९ करोड रुपैयाँ मात्र रहेको छ। प्राप्त गरेको स्रोतमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत २३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १० अर्ब ६४ करोड प्राप्त गरेका छन्।

संघीय सरकारले तीन महिनासम्म २७८ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ। यसमा चालु खर्च २२३ अर्ब ७५ करोड, पूँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ। यस अवधिमा सरकारले राजस्वबाट २०८ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये १८९ अर्ब ३८ करोड कर र १९ अर्ब २० करोड संकलन भएको हो।

प्रतिक्रिया दिनुहोस्