‘दिलीप कुमारकाे त्याे एक भनाइले म बलिउडमा स्थापित भएँ’



बलिउडका सुप्रसिद्ध अभिनेता दिलीपकुमारको स्वास्थ्य अवस्था दिनदिनै खराब भइरहेको छ । बढ्दो उमेरसँगै उनी कैयौं रोगसँग जुधिरहेका छन् । अहिले उनको स्वास्थ्य अवस्था गम्भीर मोडमा छ । 

उनी आफू नजिक आएकालाई पनि उनले ठीकसँग चिन्न सकिरहेका छैनन् । उनको श्रवणशक्ति पनि दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ । डाक्टरको एउटा टिम दिनरात उनको स्वास्थ्य अवस्था सुधार्न खटिएको छ । तर, अवस्था सामान्य हुन सकेको छैन । दिलीपकुमार आउँदो नोभेम्बर ११ मा ९६ वर्ष पुग्दै छन् ।

 

दिलीप कुमारको स्वास्थ्यप्रति चिन्तित हुँदै बलिउड अभिनेता गोविन्दाले एउटा खुलासा गरेका छन् । आफ्नो अाउँदै गरेकाे फिल्म 'रंगीला राजा'को प्रमोसनको क्रममा उनले आफूले साइन गरेका दुई दर्जनभन्दा बढी फिल्म दिलीप कुमारले छोड्न लगाएको बताएका छन् ।

 

गोविन्दाले भने, ‘कुनैबेला मैले २५ वटासम्म फिल्ममा काम गर्ने भनी साइन गरेको थिएँ । तर दिलीप कुमारले यति धेरै फिल्म साइन नगर गोविन्दा भन्नुभो ।’ गोविन्दाले दिलीप कुमारको सल्लाह तुरुन्त मानेका थिए । तर, फिल्म खेल्ने भनी लिइएको रकम उनले खर्च गरिसकेका थिए । पछि उनले उक्त रकम सापटी खोजेर फर्काएका थिए । 

 

‘दिलीपकुमारको त्यो आग्रह मान्दा मैले सबैतिरमा आलोचना खेप्नुपरेको थियो,’ उनले भने, ‘सिनेकर्मीहरुले कसैले भन्दैमा फिल्म छाड्ने तिम्रो बानीले पछि दुःख पाइन्छ समेत भनेका थिए ।’ यसको प्रतिउत्तरमा गोविन्दाले आफूलाइृ दिलीप कुमारले सम्झाएको भनी बताएका थिए ।

 

दिलीपकुमारको त्यो एक भनाइले आज आफू बलिउडमा स्थापित हुन सकेकोमा गोविन्दा गर्व गर्छन् । उनले आफ्नो परिवर्तित व्यवहारको श्रेय पनि दिलीपकुमारलाई दिए । गोविन्दाले आफ्नी आमा र गुरुपछि दिलीपकुमारलाई सम्झिएका थिए । 

प्रतिक्रिया दिनुहोस्