१० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात



काठमाडौँ । वर्षको पहिलो साढे ५ महिनामा १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँको विद्युत भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रूपैयाँ आर्जन गरेको जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारू नेपाल भित्रिएको छ। यसबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ।

सुरुमा दुईवटा विद्युत गृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जल विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो। गत १८ र ३० कात्तिकबाट क्रमशः चिलिमे र सोलु खोलाको विद्युत निर्यात सुरु भएसँगै भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०९ मेगावाट पुगेको छ।

खोलानालामा पानीको बहाव घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलु खोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्