चुनाव बहिष्कारको प्रचार-प्रसार गर्ने ४ जना सर्लाहीबाट पक्राउ



सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–११ बाट चुनाव बहिष्कार गर्ने प्रचार–प्रसार गर्दै हिँडेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरिवन नगरपालिका–११ बासाटोलस्थित इन्दू शंकर चिनी उद्योग नजिकै मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन बहिष्कार गर्ने प्रचार प्रसार गर्दै हिँडेका ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नेकपा (बहुमत) पार्टीका कार्यकर्ता भन्दै निर्वाचन बहिष्कार गर्ने प्रचार-प्रसार गर्दै हिँडेका नेकपा (बहुमत) पार्टीको नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज सर्लाहीको बागमती नगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय विचारमान थिङ्ग, नेकपा (बहुमत)पार्टीको भातृ संगठन युवा जनस्वयंसेवक नेपालका केन्द्रीय उपाअध्यक्ष नवलपरासीको कावसोती नगरपालिका–१४ का अन्दाजी वर्ष ३४ का अविनाश कुवर, नेकपा (बहुमत)पार्टीको भ्रातृसंगठन युवा जनस्वयंसेवक नेपालका केन्द्रीय सदस्य बागमती नगरपालिका–१२ का अन्दाजी वर्ष २९ का भरत पुलामी मगर र नेकपा (बहुमत)पार्टीको भातृसंगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य बागलुङको ताराखोला नगरपालिका–२ का अन्दाजी वर्ष २४ का उपेन्द्र परियारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सदा पोसाकमा खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरु चारै जनालाई शुक्रबार दिउँसो करिब ४ बजे हरिवन नगरपालिका–११ बासाटोलस्थित इन्दूशंकर चिनी उद्योग नजिकै मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन बहिष्कार गर्ने प्रचार प्रसार गर्दै हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यता, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई यथाशीघ्र रिहाईको माग गरेको छ।

विज्ञप्तीमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को नवौं महाधिवेशन आयोजक समिति सदस्य एवम् सर्लाही जिल्ला इन्चार्ज विचारमान थिङ, युवा जनस्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर र सदस्य भरत पुलामी र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य उपेन्द्र परियारलाई शुक्रवार सर्लाही जिल्लाको हरिवनबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बिनाकारण गिरफ्तार गरेको घटनाबाट हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सामान्य हिँडडुलमा रहेका उनीहरूलाई यसरी गिरफ्तार गर्नु भनेको नदुखेको टाउको कपाल तानेर दुखाउनु नै हो।’

विज्ञप्तिमा थप भनिएको छ, ‘दलाल पुँजीवादी राज्यसत्ता र यसको नेतृत्व गरेको सरकार नेकपा (बहुमत) बाट किन यति धेरै त्रसित भएको छ, हामीलाई थाहा छैन हामी सरकारसँग के स्पष्ट पार्न चाहन्छौं भने हाम्रो पार्टीको चुनाव अवज्ञा भनेको यो संसदीय व्यवस्थाको विरोध र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा शान्तिपूर्ण तरिकाले जनसङ्घर्ष गर्नु हो । यसमाथि दमन गरेर जनप्रतिरोध निम्तिएको इतिहासबाट पाठ सिक्दै गिरफ्तार गरिएका उनिहरुलाई शीघ्रातिशीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछौं ।”

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का प्रवक्ता सुदर्शनद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश प्रदेशमा निर्वाचनमा विभिन्न तीन समुहले अवरोध गर्ने एक विशेष अनुसन्धानले बताएको थियो।

प्रतिक्रिया दिनुहोस्