यस्तो छ नेपाल पुलिसको बुथ कब्जा रोक्ने ‘कमाण्डो दस्ता’



काठमाडौँ । नेपाल पुलिसले निर्वाचनमा केन्द्रीत ‘कमाण्डो दस्ता’ प्रयोग गरेको छ । मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम रोक्नको लागि प्रहरीले कमाण्डो दस्ता परिचालन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन गरेको छ। दस्तालाई बर्दी र सादा पोसाकमा रेकी गर्न र आवश्यक परे बल प्रयोगबाट स्थिति नियन्त्रणमा लिने भनिएको छ ।

प्रहरीको यो दस्ता विशेष तालिम प्राप्त फौज हो । शनिबार मात्रै निर्वाचन आयुक्त रामप्रसाद अधिकारी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दोलखाका अति संवेदनशील केही मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गरिएका स्थानमै प्रहरी प्रधान कार्यालयले कमाण्डो टोली तैनाथ गरेको हो ।

यो जनशक्ति मतदान स्थलको सुरक्षामा खटिएका, मतदान स्थल बाहिर तैनाथ गस्ती तथा भैपरी काममा रिजर्भ राखिएका बाहेक हो । प्रहरी प्रधान कार्यालयले कार्यदलको जनशक्तिलाई विशेषगरी आतंक, दंगा, अपहरण, प्रकोप तथा असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन खटाउँदै आएको छ ।

कैलालीको धनगढीमा खटिएका कमाण्डोलाई बाजुरालगायतका स्थानलाई समेत रेकी गर्न भनिएको छ। दोलखामा तैनाथ कमाण्डोलाई त्यहीका जोखिम मानिएका क्षेत्र केन्द्रित गरिएको सुरक्षा स्रोत बताउँछ।कमाण्डो तालिम लिएका करिब ५ सय जनशक्तिलाई देशका जुनसुकै स्थानमा खटाउने गरी तयारी हालतमा राखिएकोमा दोलखा र कैलालीमा भने मतदानअघि नै विशेष दस्ता खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

गत स्थानीय तह निर्वाचनमा बाजुराको बूढीगंगा नगरपालिकाका कतिपय वडामा बुध कब्जा हुनुका साथै फर्जी मतदान भएको थियो । त्यस्तै दोलखाको वैतेश्वर गाउँपालिकाको १ नम्बर वडामा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो । त्यसलाई समेत आधार मानेर शंका गरिएका मतदान स्थलमा अतिरिक्त फौज तैनाथ भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्