उदयपुरका ६२ जना कैदीले मतदान गर्न पाउने



काठमाडौँ । उदयपुर जिल्ला कारागार शाखामा कैदी बन्दी जीवन बिताइरहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन। भोलि आइतबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेका छन।

कारागारले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको जनाएको छ । कारागारको अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।

कारागारमा विभिन्न अपराधमा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ । जस मध्ये महिला कैदी बन्दीको संख्या ९ जना रहेको कारागारले जनाएको छ ।

कैदी बन्दी बाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी देखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरी समेतलाई समानुपातिक तर्फ मताधिकार रहेको छ । उनीहरू जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्