सङ्घीय लोकतन्त्रको दोस्रो अग्निपरीक्षा



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज देशभर मतदान हुँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको यो दोस्रो आमनिर्वाचन हो । निर्वाचन आयोगका अनुसार आज अर्थात् आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका १० हजार ८९७ वटा मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५, समानुपातिकतर्फका ११० तथा प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना उम्मेदवार यस निर्वाचनमार्फत अनुमोदन भएर आउनेछन् । १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको भाग्य र भविष्य निर्धारण गर्ने यस निर्वाचनलाई सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूले ‘महासङ्ग्राम’ भनेका छन् ।

आयोगले निर्वाचनका सबै व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ भने सुरक्षा संयन्त्रले मतदातालाई ढुक्कसँग मतदान गर्न आह्वान गरिसकेको छ। यस निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिमार्फत राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख चयन हुनेछन् भने ७ वटै प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र उपसभामुखसमेत चयन गर्नेछन् ।

निर्वाचन आयोगले मतदाताहरूलाई निर्धक्क मताधिकार प्रयोग गर्न अपिल गरेको छ भने राजनीतिक दल र सरकारले समेत सही विवेक पु¥याउन आह्वान गरेका छन् । ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नुहुन हार्दिक अपिल गर्दछु’, प्रमुख आयुक्त दिनेशकुमार थपलियाले भनेका भनेका छन् ।

मतदाता
यस निर्वाचनमा देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन्, जसमा ९१ लाख ४० हजार ८०६ पुरुष छन् भने महिलाको सङ्ख्या ८८ लाख ४७ हजार ५७९ छ । सबैभन्दा धेरै मतदाता बाग्मती प्रदेशमा छन् । यस प्रदेशमा ३४ लाख ७१ हजार ४९७ जना मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको प्रदेश हो– कर्णाली । यहाँ जम्मा १० लाख ८ हजार ४०३ जना मतदाता छन् ।

त्यस्तै, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५, मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८, गण्डकीमा १८ लाख १७ हजार ५४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६३७ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ जना मतदाता छन् । देशभर प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र तोकिएको छ।

प्रदेशका कुल ३३० निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा ५६, मधेस प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र पर्छन्। यस निर्वाचन प्रणालीअनुसार ४०÷६० को अनुपातमा प्रत्यक्ष र समानुपातिक सांसदहरू चुनिन्छन्, जसअन्तर्गत २६५ सिट रहेको प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षबाट चुनिनेछन् भने बाँकी ११० जना समानुपातिकबाट चुनिन्छन् । यही प्रक्रिया प्रदेशसभामा पनि लागू हुन्छ । ३३० जना प्रत्यक्षबाट र २२० जना समानुपातिकबाट प्रदेशका सांसद बन्नेछन् ।

प्रत्यक्ष उम्मेदवार

प्रत्यक्षतर्फ १६५ सिट रहेको प्रतिनिधिसभाका लागि ६१ वटा राजनीतिक दल र स्वतन्त्र गरी कुल २ हजार ४१२ जना उम्मेदवार चुनाव परिणामको पर्खाइमा छन्, जसमध्ये २ हजार १८७ जना उम्मेदवार पुरुष र जम्मा २२५ उम्मेदवार महिला छन् । समावेशिताको आधारमा सबैभन्दा धेरै उम्मेदवार खस–आर्य छन्।

२ हजार ४१२ उम्मेदवारमध्ये १ हजार १७ जना खस–आर्य छन् । त्यस्तै, ६४१ जना आदिवासी जनजाति, ५०६ जना मधेसी, ९७ जना दलित, ८२ जना मुस्लिम र ६९ जना थारू रहेका छ । प्रत्यक्षतर्फ प्रदेशसभाका कुल ३ हजार २२४ उम्मेदवारमा पनि खस–आर्यकै सङ्ख्या बढी छ । १ हजार ५५ जना खस–आर्य उम्मेदवार हुँदा थारू उम्मेदवार जम्मा १०० जना छन् ।

समानुपातिक उम्मेदवार

विभिन्न राजनीतिक दलहरूले आ–आफ्नोतर्फबाट समानुपातिकका लागि आफ्ना उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा पठाएका छन्, जसमा बन्द सूची पठाउने दलहरूको सङ्ख्या ४७ छ।समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि राजनीतिक दलहरूले कुल २ हजार ४०२ जनाको नाम निर्वाचन आयोगमा पठाएका छन्। १ हजार ३१३ महिला बन्द सूचीमा पर्दा पुरुषहरू १ हजार ८९ जना परेका छन् ।

प्रदेशसभाका लागि कुल ४ हजार ५५ जनाको नाम समानुपातिकको सूचीमा समावेश भएको छ। यहाँ २ हजार ४२६ महिला छन् भने १ हजार ६२९ जना पुरुष छन्। प्रदेशअनुसार समानुपातिक उम्मेदवारको सङ्ख्यालाई हेर्ने हो भने प्रदेश १ मा ६६१, मधेस प्रदेशमा ९४७, बाग्मती प्रदेशमा ८२५ छ। त्यस्तै, गण्डकी प्रदेशमा ३६६, लुम्बिनी प्रदेशमा ६५७, कर्णाली प्रदेशमा २२२ र सुदूरपश्चिम प्रदेशमा ३७७ जना समानुपातिक उम्मेदवार छन्।

राजनीतिक दलहरू

प्रत्यक्षतर्फ : प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारी दिने दलहरूको सङ्ख्या ६१ छ । त्यस्तै, प्रदेशमा उम्मेदवारी दर्ता गर्ने राजनीतिक दलहरूको सङ्ख्यामा बाग्मती प्रदेश सबैभन्दा अगाडि देखिन्छ।
यस प्रदेशमा ४१ वटा दलले उम्मेदवारी मनोनयन गराएका छन् ।

प्रदेश १ र मधेस प्रदेशमा ३६/३६, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ३२ दलले मनोनयन गराएका छन् । कर्णालीमा सबैभन्दा कम २८ वटा दलले उम्मेदवार मनोनयन गराएका छन् भने सुदूरपश्चिम प्रदेशमा उम्मेदवारी मनोनयन गराउने दलको सङ्ख्या ३४ रहेको छ ।

समानुपातिकतर्फ : प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवारी मनोनयन गराउने दलहरूको सङ्ख्या ४७ छ । प्रदेशगत रूपमा समानुपातिकका लागि प्रदेश १ मा ३० र मधेस प्रदेशमा ३७ वटा राजनीतिक दलले उम्मेदवारी मनोनयन गरेका छन् । बाग्मती प्रदेशमा यसको सङ्ख्या ३५ छ भने गण्डकीमा २४, लुम्बिनीमा २५, कर्णालीमा १५ र सुदूरपश्चिममा २० वटा दल छन् ।

धेरै र कम

सबैभन्दा धेरै उम्मेदवारी परेको निर्वाचन क्षेत्रमा काठमाडौं– १ रहेको छ । यहाँ ३२ जनाले उम्मेदवारी दिएका थिए, जसमा २२ जना पुरुष र १० जना महिला छन् । त्यस्तै, मोरङ– ३, धनुषा– ३, काठमाडौं– ४ पनि सबैभन्दा धेरै उम्मेदवारी परेका निर्वाचन क्षेत्र हुन् । यहाँ समान ३१/३१ जनाको उम्मेदवारी परेको छ ।

सबैभन्दा कम उम्मेदवारी परेको निर्वाचन क्षेत्र मनाङ– १ र हुम्ला– १ हुन् । यहाँ मात्र १/१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, काठमाडौं– १ मा सबैभन्दा धेरै महिला उम्मेदवार छन् । यस क्षेत्रमा १० जना महिला उम्मेदवार छन् ।

निर्वाचनका लागि तोकिएको मतदान स्थल र मतदान केन्द्रको कुरा गर्ने हो भने देशभर १० हजार ८९७ वटा मतदान स्थल र २२ हजार २२७ वटा मतदान केन्द्र छन्। त्यस्तै, निर्वाचनका लागि २ लाख ४६ हजारभन्दा बढी कर्मचारी खटिएका छन् भने २ लाख ९८ हजार ५०० जना सुरक्षाकर्मीको सुरक्षामा निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्