शीर्ष नेता कसले कहाँबाट गर्दै छन् मतदान ?



  • रमेश पौडेल

काठमाडौं । आज देशभरका मतदाताले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि मतदान गदै छन्। नयाँ जनप्रतिनिधि छान्न देशभरका मतदाता उत्साहित देखिएका छन् । शीर्ष नेता कसले कहाँबाट मतदान गर्दै छन् भन्नेमा सबैको चासो हुन्छ । द नेपालटपले प्रत्यक्ष भेटर, फोन गरेर कुन नेताले कहाँबाट मतदान गर्दै छन् भनेर खोजेको छ।

देशको सत्ता सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका– १, डडेल्धुराको असिग्राम उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै छन्। प्रधानमन्त्री आफैँ डडेल्धुरामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार पनि छन्।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोककको चौतारा साँगाचोकगढी नगरपालिका– ४ को पञ्चकन्या माध्यमिक विद्यालयको मतदान केन्द्रबाट उनले मतदान गर्ने भएका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका– २ महेन्द्र शान्ति मावि केन्द्रमा मतदान गर्नेछन् । ओली झापा– ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

गोरखा– २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका– १४ शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गर्दै छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका– २ बाट मतदान गर्दै छन्।

सोही पार्टीका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ को राष्ट्रिय निमावि मतदान केन्द्रमा मतदान गर्नेछन् । उनीहरू दुवै तत्तत् क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका– १ को अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी यो पटक प्रतिनिधिसभामा उम्मेदवार छैनन् ।

त्यस्तै परराष्ट्रमन्त्री डा. नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका– ८ बाट मतदान गर्दै छन् । खड्का उदयपुर– १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत हुन् । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बराहक्षेत्र नगरपालिका– १० बाट मतदान गर्दै छन् । कार्की पनि सुनसरी– ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

गृहमन्त्री बालकृष्ण खाण रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ को ज्योति आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । उनी रुपन्देही– ३ बाट उम्मेदवार छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सर्लाहीको बलरा नगरपालिका– १ बाट मतदान गर्दै छन् । उनी महोत्तरी– ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपेन्द्र यादवले मोरङको विराटनगर महानगरपालिका– १४ डिग्री क्याम्पसबाट मतदान गर्दै छन्। निर्वाचन प्रतिस्पर्धामा भने उनी सप्तरी– २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री र पूर्वगृहमन्त्री कृष्ण सिटौलाले झापाको भद्रपुर– १० स्थित कबलगुडी प्राविबाट मत हाल्दै छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगर्ने 

राष्ट्रपति विद्यादेवी भण्डारीले भने मतदान नगर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले द नेपालटपलाई दिएको जानकारी अनुसार भण्डारीको मतदान गर्ने कुनै कार्यतालिका छैन ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मतदान नगर्ने भएका छन् । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले द नेपालटपलाई जानकारी दिएअनुसार पुनले भोट नहाल्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्