प्रधानमन्त्री पदकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्री पदकै कारण गठबन्धन नटुट्ने बताएका छन्। आइतबार चितवनमा मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जबसम्म संविधानमाथि र सुशासन र समृद्धिको यात्रामाथि प्रश्नचिह्न रहन्छ, गठबन्धन जारी रहने बताए।उनले गठबन्धनमा प्रधानमन्त्रीको टुंगो नलागेको पनि बताए।

‘प्रधानमन्त्रीका उम्मेदवार धेरै छन् अहिले। नेपाली कांग्रेसमा शेरबहादुर देउवादेखि गगन थापा र अरुले पनि दाबी गरिरहेका छन्। त्यसकारण हामीले गठबन्धनभित्र प्रधानमन्त्रीको टुंगो लगाएका छैनौँ। मैले सबैतिर भनेको छु, प्रधानमन्त्री समस्याको विषय हुँदैन,’ उनले भने। २०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्ड यसपटक गोरखाबाट उम्मेदवार भएका छन्। तर चितवनप्रति आफ्नो सम्बन्ध कायमै रहने उनको भनाइ छ।

उनले भने, ‘चितवनसँगको विशेष सम्बन्ध कायम रहन्छ। यहाँको विकासमा मेरो ध्यान रहन्छ।’प्रचण्डले निर्वाचनलाई ऐतिहासिक महत्त्वको ठानेको प्रतिक्रिया दिए। यो निर्वाचन संविधानलाई संस्थागत गर्ने कुरामा ठूलो महत्त्व छ भन्ने ठानेको बताए।

प्रतिक्रिया दिनुहोस्