सङ्खुवासभामा भोलिबाट मतगणना



काठमाडौँ । सङ्खुवासभाको मत गणना मंगलबार दिउँसोबाट गरिने भएको छ। दुर्गम मतदान केन्द्रबाट मतपेटिका नआइपुगेकाले मंगलबार दिउँसोबाट मात्र मत गणना सुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार बिहान सर्वदलीय बैठक बसी दिउँसोबाट मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका ३ मतदान स्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ। चीनको सिमावर्ती किमाथांका, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो।

भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाकसहित ३ मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो हेलिकप्टर मार्फत् ल्याइएको छ ।

भोटखोलाबाट सदरमुकाम खाँदबारी ल्याउन गाडी र पैदल गरेर ३ दिनसम्म लाग्ने गर्दछ। थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् । संखुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार ८ सय ९२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्