कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार



काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्ने भएको छ । मंसिर २८ देखि पुस ३ गतेसम्म बस्ने महासमितिको तयारीलगायत विषयमा छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘विधान मस्यौदा समितिको काम, महासमिति बैठकको तयारीका लागि बनेका समितिको कामलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, प्रवक्ता शर्माले भने । 

बैठकमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका बारेमा पनि छलफल हुने बताइएको छ । नेविसंघको दुई वर्षे कार्यकाल मंसिर २ गते सकिँदैछ । 

अब नेविसंघमा के गर्ने भन्नेबारे बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए । नेविसंघको महाधिवेशन यसपटक पनि नहुने निश्चित जस्तै छ । 

अब पार्टी आन्तरिक सहमतिमा तदर्थ समिति बनाउने सम्भावना छ । नेविसंघमा खासगरी उमेर विवादका कारण महाधिवेशन हुन सकेको छैन । नेविसंघको दुई वर्षे कार्यकाल भदौ २ गते सकिएको थियो । तर विधानअनुसार तीन महिना लम्ब्याइएर मंसिरसम्म पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्