बसुन्धारा लुटपाट : आफन्तबाटै लुटियो ५५० तोला सुन र २५ लाख नगद



काठमाडौँ । काठमाडौं महानगरपाालिका-३ बसुन्धारास्थित नन्दा मल्लको घरमा कात्तिक २८ गते भएको लुटपाट आफन्तबाटै भएको पुष्टि भएको छ । लुटपाटमा संलग्न आरोपमा प्रहरीले १० जनालाई पक्रेर बिहीबार सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो ।

दरबारमा सुसारे काम गरेकी नन्दाको घरबाट ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको पीडित पक्षले दाबी गरेका छन् । नन्दासहित र त्यसदिन घरमा रहेका ५ जना महिलाले बताएअनुसार ५५० तोला सुन र २५ लाख नगद लुटपाट भएको छ । करिब ६ करोड मूल्य बराबरको सो लुटमा आफन्तनै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ घर भएर सुन्धारा बस्ने १९ वर्षीया कविता बुढाको लुटमा मुख्य भूमिका देखिएको छ । नन्दा मल्लकी भदैनी बुहारी हुन् कविता । फुपुकहाँ बेला-बेला गइरहने कविताले कात्तिक २७ मा आमाजु दिपिका मल्ल र दिपिकाका श्रीमान कुर्मबहादुर मल्ललाई लिएर गएकी थिइन् । दिपिका र कुर्मले त्यसदिन घरबाहिर फोटो र भिडियो खिचेर फर्केका थिए ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ घर भएर भोटेबहाल बस्ने कुर्मले त्यहाँबाट फर्केपछि कालिकोटको महावै-२ घर भएर भक्तपर बस्ने २७ वर्षीय पवन भन्ने पञ्चबहादुर सिंहसँग मिलेर लुट्ने योजना बनाएको काठमाडौं प्रहरी परिसरले बताएको छ ।

बसुन्धाराबाट लुटेको सुनको गिलास प्रहरीले पवनको कोठाबाट बरामद गरेको छ। ‘आरोपीको डेराबाट साढे ३८ तोलाको सुनको गिलास बरामद गरेका छौं’ प्रहरीले भन्यो -‘चोरी तथा डाँकासम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर १० जना आरोपीमाथि अनुसन्धान गरिरहेका छौं ।’

लुटेको सुनको तिलहरी, सुनको नौगेडी २ थान र हिराको हार ३ थान प्रहरीले बरामद गरेको छ । लुटमा संलग्नहरु जुम्ला घर भएका विशाल शाही, कालिकोट घर भएका २४ वर्षीय तिलकबहादुर शाही, रामेछापको दोरम्बा घर भएका २४ वर्षीय सुवर्ण मगर, कालिकोट खाडाचक्र घर भएका धनबहादुर शाही, कालिकोट महावैका पर्वराज सिंह, कालिकोट तिलागुफाका गंगाबहादुर शाही र कालिकोटकै नेत्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

घरधनीकी भदैनी बुहारी कविता, कालिकोट घर भएर भक्तपुर बस्ने २७ वर्षीय पञ्चबहादुर सिंह उर्फ पवन र २१ वर्षीया दिपिका मल्ल शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लुटमा संलग्न दिपिकाका श्रीमान कुर्मबहादुर शाही फरार छन् ।

सुवर्ण मगर पठाओ राइडर हुन् । सुवर्णले लुट्न जाँदा नेत्रबहादुर शाही र लुटेर फर्किंदा पञ्चबहादुर सिंहलाई आफ्नो मोटरसाइकलमा चढाएर छाडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्