गाउँका सिंहदरबारबाट ३ ले बाजी मार्दा ८ जनाको हार



काठमाडौं । सांसदबाट राजीनामा दिएर गत स्थानीय तहको निर्वाचनमा धेरै जना नगर प्रमुखका उम्मेदवार बने तर जित भने निकाल्न सकेनन् । त्यसको विपरीत अहिलेको आमनिर्वाचनमा २०७४ सालका नगर प्रमुखहरू उम्मेदवार बने । थोरैले प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दा प्रदेशसभामा भने धेरै पूर्व नगर प्रमुखहरू उम्मेदवार बने ।

पालिकाको सीमित परिधिमा रहेर राजनीति गर्नेहरू एकै पटक संसदीय निर्वाचनमा आउँदा अपेक्षा बढी भए पनि नतिजा भने उनीहरूको पक्षमा कमै आउने निर्वाचन परिणामले देखिएको छ। मत गणना जारी नै रहँदा अहिलेसम्म आएको परिणामअनुसार प्रतिनिधिसभामा ३ जना पूर्व नगर प्रमुख विजयी भएका छन् । आधा दर्जनभन्दा बढी पूर्व नगर प्रमुख प्रदेशसभाको निर्वाचनमा पराजित भएका छन् ।

धवलशम्शेर राणा

२०५१ सालको आमचुनावमा पराजय, २०५२ सालमा नेकपा एमाले प्रवेश, २०५४ सालमा नगर प्रमुख, दोस्रो संविधानसभाको चुनावमा फेरि पराजय र अन्त्यमा २०७९ सालको आमनिर्वाचनमा दलबलसहति संसद् प्रवेश । यो पृष्ठभूमि हो नेपालगंज उपमहानगरपालिकाका पूर्व नगर प्रमुख तथा बाँके– २ मा प्रतिनिधिसभा सदस्यमा विजयी धवलशम्शेर राणाको ।

पूर्व नगर प्रमुखको हैसियतमा चुनावी मैदानमा होमिएका राणाले फराकिलो मतान्तरसहित जित हात पारेका छन् । जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईलाई राप्रपाका रााणाले ६ हजार ५७ मतान्तरले पराजित गरेका हुन् । राणा २९ हजार ५७७ मत ल्याएर विजयी हुँदा राईले २३ हजार ५२० मत ल्याए । राप्रपालाई यहाँ एमालेको साथ थियो भने गठबन्धनबाट कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा थिए ।

तिलोत्तमाका पूर्व नगर प्रमुखको संसद् यात्रा

रुपन्देही– ५ बाट प्रतिनिधिसभामा निर्वाचित उम्मेदवार हुन् वासुदेव घिमिरे । २०७४ सालमा एमालेबाट तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका घिमिरे अहिले प्रतिनिधिसभामा निर्वाचित भएका छन्। रुपन्देही– ५ मा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकामा घिमिरेले कांग्रेसको गढ भत्काउँदै नेकपा एमालेको पक्षमा जित निकाल्न सफल भए ।

पहिलो संविधानसभादेखि रुपन्देही– ५ मा विगत ३ कार्यकाल निरन्तर नेपाली कांग्रेसका भरतकुमार शाह विजय हुँदै आएका थिए । चौथो जितमा यस पटक पनि शाह चुनावी मैदानमा थिए । तर, घिमिरे उनीमाथि भारी देखिए । पूर्व नगर प्रमुख घिमिरे ९ हजारभन्दा बढी मतका साथ विजयी भए ।

तिलोत्तमाको नगर प्रमुख हुँदा घिमिरेले आफ्नो नगरपालिकालाई देशकै उत्कृष्ट पालिका बनाएका थिए भने पालिकालाई खुला प्लास्टिकमुक्त बनाउँदै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्रसमेत दिलाएका थिए ।
नगर प्रमुख हुँदा तिलोत्तमामा गरेका राम्रा र रचनात्मक कामको समीक्षा जनताले प्रतिनिधिसभाको निर्वाचनमा मतमार्फत गरेको उनी बताउँछन् ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व नगर प्रमुख सन्तोष चालिसे

प्रतिनिधिसभातर्फ काठमाडौं– ३ मा भएको पूर्वसांसद र पूर्व नगर प्रमुखबीचको चुनावी लडाइँमा पूर्व नगर प्रमुख विजयी भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा सन्तोष चालिसे विजयी भएका थिए ।

त्यस्तै, २०७४ सालकै आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए एमालेका कृष्णबहादुर राई । पूर्वसांसद र पूर्व नगर प्रमुखको हैसियतमा चुनावी मैदानमा उत्रिएका यी २ जनाबीचको लडाइँमा बाजी भने पूर्व नगर प्रमुखले मारे । पूर्व नगर प्रमुख चालिसे राईलाई ३ हजार ५७६ मतले पछि पार्दै विजयी भएका हुन् ।

चालिसेले १३ हजार ८५३ मत प्राप्त गर्दा एमालेका राईले १० हजार २७७ मत मात्र पाउन सके। जोरपाटी–साँखु सडकखण्डको दूरवस्थामा चालिसेलाई मूकदर्शक बनेको आरोप लाग्दै आएको थियो । तर, फोहोर तथा फुटपाथ व्यवस्थापनमा गोकर्णेश्वरले गरेका उदाहरणीय कामको श्रेय भने चालिसेलाई नै दिइन्छ।

टीकापुरका तपेन्द्रबहादुर रावल

प्रतिनिधिसभामा उम्मेदवार बनेका अर्का पूर्व नगर प्रमुख हुन् तपेन्द्रबहादुर रावल। कैलालीको टीकापुर नगरपालिकाका पूर्व नगर प्रमुख रावल एमालेका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । तर, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसगँ उनी पराजित भए।

रावलले ५ हजार ९१० मत पाउँदा श्रेष्ठले भने ३० हजार ४०४ मत पाएकी थिइन्। रेशम चौधरीको संरक्षकत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभातर्फ कैलालीको १, २ र ३ नम्बर क्षेत्रमा विजयी भएको छ भने ४ र ५ मा नेपाली कांग्रेसले जितेको छ।

गौरीगङ्गाका भीम देउवा

त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौरीगङ्गा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका भीम देउवा पनि चुनावी मैदानमा थिए। सुदूरपश्चिमको प्रदेशसभामा प्रवेश गर्ने उनको रहर यस पटक भने पूरा हुन सकेन।

एमालेका तर्फबाट प्रदेशसभाका लागि कैलाली–४ ‘ख’बाट उम्मेदवार बनेका उनी नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारीसँग पराजित भए । देउवाले ९ हजार ४३२ मत ल्याउँदा सोडारीले १३ हजार ४८९ पाएका थिए।

चौताराका अमानसिंह तामाङ

बाग्मती प्रदेशसभातर्फ सिन्धुपाल्चोक– २ ‘ख’मा ८ हजार ७६७ मतान्तरले युवराज दुलालसँग पराजित भएका अमानसिंह तामाङ पनि पूर्व नगर प्रमुख हुन् । चौतारा सँगाचोकगढी नगरपालिकाका प्रमुख तामाङ यस पटक प्रदेशसभामा एमालेका उम्मेदवार बनेका थिए तर गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका दुलालसँग पराजय भोगे । दुलालले २० हजार ९०६ मत ल्याउँदा तामाङ १२ हजार ९३९ मतमै सीमित भए ।

दुलाल र तामाङ पूर्वसहकर्मी पनि हुन् । यी दुवै माओवादी पार्टीका नेता भए पनि तामाङ माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा माओवादीले तामाङलाई नगर प्रमुखको टिकट नदिएका कारण उनी माओवादीसँग रुष्ट बनेका थिए ।

अत्तरियाका हरिसिंह साँउद

कैलाली–४ ‘ख’को प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका अत्तरिया नगरपालिकाका पूर्व नगर प्रमुख हरिसिंह साँउद पनि पराजित भएका छन् । एमालेबाट उम्मेदवार बनेका साँउद कांग्रेस उम्मेदवार प्रकाश बमसँग पराजित भएका हुन् । साँउद बमसँग ५१५ मतको झिनो अन्तरले पराजित भए । बमले १२ हजार ४७३ मत पाउँदा सााउदले ११ हजार ९५८ मत पाए ।

भीमदत्तका सुरेन्द्र विष्ट

कन्चनपुरको भीमदत्त नगरपालिकामा २०७४ सालको निर्वाचनमा नगर प्रमुख जितेका सुरेन्द्र विष्टले प्रदेशसभाको निर्वाचनमा भने हार बेहोरेका छन् । कन्चनपुर– ३ ‘ख’मा एमालेबाट उम्मेदवारी दिएका विष्ट गठबन्धनका तर्फबाट कांग्रेसका बेलबहादुर राना मगरसँग पराजित भएका हुन् । मगरले १६ हजार १५२ मत पाए भने विष्ट १० हजार ५४८ मतमा सीमित रहे ।

पाटनका केशवबहादुर चन्द

प्रतिनिधिसभामा बैतडीबाट स्वतन्त्र उम्मेदवारी दिएका पाटन नगरपालिका पूर्व नगर प्रमुख केशवबहादुर चन्द पनि पराजित भएका छन् । बैतडीमा सत्ता गठबन्धनले माओवादीका लागि छाडिदिएपछि रुष्ट बनेका कांग्रेस नेता चन्द स्वतन्त्र रूपमा उम्मेदवार बनेका थिए । तर, यस क्षेत्रमा बाजी भने एमालेले मार्‍यो।

मात्र २ हजार ५०९ मत ल्याएका चन्द तेस्रो स्थानमा रहे भने गठबन्धनका उम्मेदवार नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मतले दोस्रो स्थानमा रह्यो । विजयी बनेका एमाले उम्मेदवार दामोदर भण्डारीले भने ३३ हजार ६११ मत ल्याए ।

इटहरीका द्वारिकलाल चौधरी

सुनसरीको इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरी सुनसरी– २ को ‘क’मा माओवादीका उम्मेदवार थिए । तर, उनी एमालेका रेवती भण्डारीसँग पराजित भए । २ हजार ६८० मतान्तरले चौधरी भण्डारीसँग पराजित हुँदा चौधरीले ११ हजार ८४८ मत पाएका थिए भने भण्डारीले १४ हजार ५२८ विजयी मत ल्याए ।

चुनावको मुखैमा एमाले छाडेर माओवादी प्रवेश गरेका द्वारिकलाल २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनसरीको इटहरी उपमहानगरपालिकामा नगर प्रमुख चुनिएका थिए । सार्वजनिक रूपमा राम्रो छवि बनाउन नसकेको र जनप्रतिनिधिको मर्यादा कायम राख्न असफल भएको आरोप लागेका चौधरी यस पटक प्रदेश– १ को प्रदेशसभामा छिर्ने दाउमा थिए ।

तुलसीपुरका घनश्याम पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगर प्रमुख घनश्याम पाण्डे प्रदेशसभाको निर्वाचनमा पराजित भए । एमालेबाट दाङ– ३ ‘क’मा उम्मेदवारी दिएका पाण्डे कांग्रेसका डिल्लीबहादुर चौधरीसँग पराजित भएका हुन् । चौधरीले १९ हजार ८५० मत प्राप्त गरी विजयी हुँदा पाण्डेले १४ हजार ४५० मत ल्याए । यी २ जनाबीच ५ हजार ४०० मतान्तर छ । घनश्याम पाण्डे पूर्व नगर प्रमुख हुन् भने कांग्रेसका डिल्लीबहादुर चौधरी यसै क्षेत्रका पूर्व प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्