स्विट्जरल्याण्डलाई पराजित गर्दै ब्राजिल नकआउट चरणमा



काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिल एक खेल अगावै कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिलले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

ब्राजिलसँग पराजित स्विटजरल्याण्डको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ। खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। उनले रोड्रिगोको पासमा बललाई फिनिसिङ टच दिएका हुन्। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए।

जारी विश्वकपमा एक खेल अगावै नकआउटमा पुग्ने ब्राजिल दोस्रो टोली हो। यसअघि फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। यसअघि सोमबार राति नै भएको खेलमा समूह जी का सर्विया र क्यामरुनले बराबरी खेलेपछि ब्राजिल १ खेलअघि नै नकआउटमा पुगेको हो। अब अन्तिम खेलमा ब्राजिल र क्यामरुन तथा स्विट्जरल्याण्ड र सर्विया भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस्