बिनापरीक्षण भित्रिन्छन् खाद्य वस्तु



काठमाडौं । राज्यबाट नै नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको पाइएको छ । भैरहवा भन्सार नाकाबाट आयात हुने खाद्य वस्तु परीक्षण नै नगरी भित्र्याउने गरेको पाइएको छ। उक्त भन्सार नाकाबाट दैनिक ४० गाडी चामल आयात हुन्छ भने तोरी २० देखि ३० गाडी आयात हुन्छ। यस्तै, करिब ३० वटा भन्दा बढी मकै तथा गेडागुडीका गाडी जाँचबिना नै नेपाल भित्रिने गरेको भैरहवा भन्सार कार्यालयका एक अधिकारीले जानकारी दिए।

वैदेशिक व्यापारलाई सहजीकरणका लागि भन्सार प्रक्रियालाई कागजरहित बनाउने उद्देश्यले राष्ट्रिय एकद्वार प्रणाली सुरु गरेदेखि नै खाद्य वस्तु दाल, चामल, तोरी, गेडागुडीलगायतमा हुने मिसावट केही जाँच नै नहुने अधिकारीले बताए। भन्सार नाकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्लान्ट क्वारेन्टाइन भए पनि खाद्य वस्तुमा हुने मिसावट तथा विषादी परीक्षण नै नगरी खाद्य वस्तु नेपाल भित्र्याउने गरेको उनले सुनाए। भन्सार नाकाबाट आयात हुने खाद्य वस्तुमा हुने मिसावट जाँच नगरी खुलेआम भित्र्याउनु राज्यले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको उनको भनाइ छ।

उनका अनुसार नाकाबाट आयात हुने खाद्य वस्तुमा किरा छ कि छैन भन्ने कुरा मात्र हेर्ने गरेको छ । तर, खाद्य र अखाद्य वस्तु, विषादीहरू मिसावट छ वा छैन भन्ने कुरा जाँच नै हुँदैन। एकद्वार प्रणालीबाट खाद्य वस्तुमा हुने मिसावट जाँच गर्न नमिल्ने भएपछि ५ वैशाख २०७८ को कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट विदेशबाट कृषि वस्तुहरू, बिरुवा तथा बिरुवाजन्य, पशु तथा पशुजन्य र खाद्य वस्तुहरूको जाँच गरेर मात्र आयात अनुमति दिनुपर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भैरहवा नाकाले नमानेको उनले बताए।

नाकाबाट खुलेआम खाद्य वस्तु भित्रिँदा पनि खाद्य वस्तुको गुणस्तर र स्वच्छ राख्नुपर्ने जिम्मेवारी पाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई थाहा हुँदा पनि बेवास्ता गरिरहेको छ।
भन्सारको एकद्वार प्रणालीमार्फत विभागले खाद्य वस्तु आयातका लागि अनुमति भने दिँदै आएको छ । तर, नाकाबाट खाद्यमा के कस्तो मिसावट छ वा छैन भन्ने जाँच गरिँदैन। भैरहवा भन्सार नाका कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले नाकाबाट आयात हुने खाद्य वस्तु हुने मिसावटको परीक्षण नहुने स्वीकार गरेका छन् ।

भन्सारको एकद्वार प्रणालीबाट खाद्य वस्तु आयात गर्दा खाद्यमा हुने मिसावट जाँच गर्ने अनलाइन प्रणालीको विकास नभएको हुँदा जाँच नभएको उनले जानकारी दिए । भन्सार नाकामा खाद्य वस्तुमा हुने मिसावटको जाँचका लागि कृषि मन्त्रालयले ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘हामीले वैदेशिक व्यापारलाई सहजीकरणका लागि एकद्वार प्रणाली लागू गरेको हो । हामीले पशु सेवा विभाग र कृषि विभागको प्लान्ट क्वारेन्टाइनलाई आयात जाँच गर्न अुनमति दिएकै छ।’

खाद्यमा हुने मिसावटको जाँच गरेर मात्र आयात अनुमति दिनका लागि कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि विभागले ध्यान नदिएकाले अनलाइन प्रणालीको विकास नभएको उनको भनाइ छ । खाद्य प्रविधि हाम्रो एकद्वार प्रणालीमा आउने हो भने भन्सार विभाग अनुमति दिन तयार रहेको प्रमुख अधिकृत पौडेलले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता महोनकृष्ण महर्जनले एकद्वार प्रणालीमार्फत आयात अनुमति दिने गरेको तर अनलाइनबाटै खाद्य वस्तुमा आयात हुने मिसावट जाँच गर्ने अनुमति नभएको बताए। खाद्य ऐन, २०२३ अनुसार आयातीत वस्तुको भन्सार बिन्दुमै अनिवार्य जाँच गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा अनलाइन प्रणालीमार्फत भन्सार नाकामै खाद्य वस्तुमा हुने मिसावट जाँच अनिवार्य गर्न केही समस्या भएको प्रवक्ता महर्जनको भनाइ छ।

उनले अनलाइनमार्फत नै खाद्य वस्तु हुने मिसावटको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि जाँच नगरी आयात अनुमति नदिएर आयात गर्न नपाउने प्रणालीको विकासका लागि भन्सार विभागलाई अनुरोध गरेको जानकारी दिए। भन्सार नाकामै खाद्य वस्तु जाँच नभए पनि नेपालभित्र आयात भइसकेपछि आयात भएका खाद्य वस्तुमा मिसावटको शङ्का भएमा जाँच गर्ने गरेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्