चिसोबाट जोगिने उपाय सोच



काठमाडौं । वातावरणमा परिवर्तन प्राकृतिक चक्र हो । पर्यावरणीय चक्र हरेक समय घुमिरहन्छ । ऋतुहरू फेरिइरहन्छन् । हरेक ऋतुका आ-आफ्ना स्वभाव, महत्व र अर्थ छन् । साथसाथै यिनले मानव जीवनमा पार्ने प्रभाव पनि फरकफरक छन् । वर्षा ऋतुका फाइदासँगै खतरा वा जोखिम पनि छन्-बाढी–पहिरो जस्ता प्रकोपका । गृष्मका पनि फाइदासँगै बेफाइदा पनि छन्- विभिन्न महामारी र सरुवा रोगका । लू र उच्च गर्मीका ।

अहिले हिउँद चलिरहेको छ । अबका केही महिना देशका सबै भेगमा जाडो बढ्नेछ । नेपालमा केही यस्ता भूगोल छन्, जहाँ गर्मीमा अतिगर्मी र जाडोमा अतिजाडो हुने गर्छ । यस्ता स्थानमा यी ऋतु सुरु हुनुअघि नै आवश्यक सावधानीका उपाय अवलम्बन गरिनु आवश्यक हुन्छ । यस्ता भेगमा स्थानीयहरू हरेक ऋतुमा पीडामा पर्ने गरेका छन् । कतै बाढी–पहिरो र हुरी–हुण्डरीको प्राकृतिक तमासाको मार खेप्न बाध्य छन् भने कतै लू, अतिचिसो वा ठण्डीको पीडाबाट गुज्रिइरहेका छन् । अकालमै मानिसको ज्यान गइरहेको अवस्था छ ।

यस्तो अवस्था हरेक वर्ष घुमीफिरी आउँछ भन्ने सबैलाई थाहा छ- सरकारलाई पनि । तर, यस्तो अवस्था आउनुपूर्वका सावधानी, यसबाट बच्ने उपायहरूबारे भने कसैले समयमै सोच्दैनन्, सरकारले पनि । आमजनको, सर्वसाधारणको र विशेषगरी गरिब, विपन्न, मजदुर, रोगी, बालबच्चा र वृद्धवृद्धाको अवस्था दयनीय हुने गर्छ । कतिपयले यस्तो मौसमका कारण ज्यान गुमाउँछन् । यदि समयमै आवश्यक सावधानीका उपाय अपनाउने हो, सचेतना बढाउने हो भने यी समस्याको समाधान सम्भव छ । तर, यतातर्फ सरोकारवाला व्यक्ति, संस्था र निकायको ध्यान जान सकेको छैन ।

अहिले देशमा नयाँ स्थानीय सरकार आइसकेका छन् । आफ्ना स्थानीय नागरिकको जीउ–धनको र स्वास्थ्यको सुरक्षा गर्नु हरेक स्थानीय सरकारको कर्तव्य र दायित्व हो । यसर्थ, हरेक स्थानीय तहले स्थानीय भूगोलको वातावरणीय अवस्थाअनुसारका मौसमअनुसार हुने विपद्को आँकलनसहित आवश्यक व्यवस्था बेलैमा गर्नु आवश्यक छ । यतातर्फ स्थानीय तहहरू र सरोकारवालाको ध्यान खिचियोस् ।

प्रतिक्रिया दिनुहोस्