देव गुरुङ भन्छन् : प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।

संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताए । “अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिँड्ने हुन् हेर्न बाँकी छ तरपनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन” गुरुङले भने ।

राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए । महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताए । उनले शान्ति प्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरु पुगेको बताए ।

उनले भने, “जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ।”

विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।
एक अर्को प्रसंगमा गैर राजनीतिक पृष्ठभूमिबाट राष्ट्र प्रमुख बनाउन व्यवस्थाको विरुद्धमा हुने बताए ।

कार्यक्रममा हुम्लाबाट हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा कार्की विजया बोहोरा र प्रदेशसभा सदस्य कलबहादुर हमाललाई बधाई तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्