प्रदेश १ का संसदहरूको शपथ ग्रहण आज



मोरङ । प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरुको शपथ ग्रहण आज हुँदैछ। शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने संसद सचिवालयले जनाएको छ।

नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ। जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आजै साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम छ।

उनै मण्डलले प्रदेशसभाका अरु सांसदहरुलाई शपथ खुवाउने छन्। नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्