बीआरआईमा सहकार्य गर्न चीन तयार



काठमाडौं । बेल्ट एन्ड रोड अवधारणा (बीआरआई)मा थाती रहेका परियोजना अगाडि बढाउन चीनले चासो लिएको छ। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा द्विपक्षीय सहकार्य विस्तार हुने चीनको भनाइ छ।

प्रचण्डलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयको यस्तो धारणा सार्वजनिक भएको हो। ५ वर्षअघि नेपालले बीआरआईमा हस्ताक्षर गरे पनि कुनै परियोजना अघि बढेका छैनन्। चिनियाँ महत्वाकाङ्क्षी परियोजनाअन्तर्गत नेपालले केरुङ–काठमाडौं रेल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन विस्तार, सडक पूर्वाधार, कनेक्टिभिटीलगायत परियोजना प्रस्ताव गरेको थियो।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन चीन तयार रहेको बताइन्। ‘नेपालको नयाँ सरकारसँग मित्रवत् आदान–प्रदान र सहयोगलाई विस्तार गर्दै सम्बन्ध गहिरो बनाउन, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन तयार छौँ’, उनले भनिन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो कार्यकाल सन् (२०१३)मा अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीति एवं महत्वाकाङ्क्षी कार्यक्रम सन् २०१४ बाट सुरु भएको थियो।

चीनले नेतृत्व लिएको यस परियोजनामा एसिया, युरोप, अफ्रिका, मध्य पूर्वका अधिकांश देश आबद्ध छन्। दक्षिण एसियालाई जोड्ने लक्ष्यसहित अघि बढेको चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) बीरआरआईअन्तर्गतको महत्वपूर्ण परियोजना हो।

नेपालले हस्ताक्षर गरेपछि निकै चर्चामा रहेको बीआरआई केही वर्षयता नेपाल–चीनको उच्च स्तरीय भ्रमणका बेला खासै प्राथमिकतामा पर्न सकेको थिएन। प्रचण्डको दोस्रो कार्यकालमा नेपालले बीआरआईमा हस्ताक्षर गरेको थियो। अहिले प्रचण्डले सरकारको नेतृत्व लिएलगत्तै बीआरआईबारे चीनको आधिकारिक धारणा आएको छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले बीआरआईलाई प्राथमिकतामा राखे पनि कोरोना सङ्क्रमणको प्रभावले परियोजना अघि बढ्न सकेको थिएन। वैदेशिक ऋण लिएर विकास पूर्वाधार अघि बढाउन नहुने धारणा सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘ऋण होइन, अनुदान’मा मात्रै सहकार्य हुने बताएको थियो। गत वर्ष चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा बीआरआईबारे छलफल हुँदा नेपालले अनुदानकै अडान लिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू स्मरण गर्छन्।

‘चीनले विगतदेखि सहुलियत ऋणको प्रस्ताव गरिरहेको थियो, तर ऋणबारे नेपालले आनाकानी गरेकै हो’, मन्त्रालयका एक अधिकारीले भने, नेपालकै यस्तो अडान र कोरोना सङ्क्रमणले परियोजना अघि बढ्न सकेको छैन।’ बीआरआईअन्तर्गत प्राचीन रेशम मार्ग र सामुद्रिक यातायात सञ्जाल जोड्ने चिनियाँ लक्ष्य छ।

यो परियोजनाले अन्तर्राष्ट्रिय रेल सञ्जाल, तेल, उर्जा, सडक, हवाई, टेलिकम्युनिकेसनलगायत परियोजना अघि सारिएका छन्। सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तानस्थित नाजार्बाएव विश्वविद्यालयमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति सीले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गरेका थिए। सुरुमा ‘वान् बेल्ट वान् रोड’ समेत भनिने यो परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’का रूपमा चिनिएको छ।

प्रतिक्रिया दिनुहोस्