जयनगर–जनकपुर रेल्वे सञ्चालनका लागि इञ्जिन–डब्बा भाडामा लिइँदै



नेपाल सरकारले भारतीय कम्पनीसँग इन्जिन, डब्बा (बोगी) र प्राविधिक ‘वेटलिज’ मा लिएर जयनगर–जनकपुर–कुर्था रेल्वेखण्ड सञ्चालनमा ल्याउने तयारी थालेको छ । रेलको इन्जिन र डब्बा भाडामा लिने सहमति भारतीय कम्पनीसित यसै साता हुँदै छ ।

 

पुस ३ सम्ममा सञ्चालन गर्ने तयारी थालिएको उक्त रेल्वेखण्डको निर्माण काम लगभग सकिएको छ । रेल्वे स्टेसन र प्लेटफर्मको निर्माणलाई अन्तिम रूप दिने काम भइरहेको छ । 

 

भारतको निजी कम्पनीसँग ‘वेटलिज’ मा रेल्वेको इन्जिन र डब्बा लिएर सञ्चालन गर्न लागिएको नेपालको यो दोस्रो रेल्वे लाइन हो । भारतको रक्सौलदेखि वीरगन्जको सिर्सिया बन्दरगाहसम्म वेटलिजमै मालवाहक रेल कुँदिरहेको छ ।

 

भारतको कंकर गु्रपको साझेदारीमा नेपालको हिमालय ट्रमिनलले रक्सौलदेखि सिर्सियासम्मको ८ किमि दूरीमा मालवाहक रेल सञ्चालन गरेको १० वर्षभन्दा बढी पुगेको छ । भारत सरकारको लगानीमा जयनगरदेखि कुर्थासम्म ४७ किमिमा रेल्वेको ब्रोडगेज ट्रयाक निर्माण गरिएको छ ।

 

भारतमा ब्रिटिस शासनको बेला जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल्वेको न्यारोगेज ट्रयाक निर्माण गरिएको थियो । निरन्तर नोक्सानी र सञ्चालन खर्च बढेपछि नेपाल सरकारले ७ वर्षअघि न्यारोगेज रेलको सञ्चालन रोकेको थियो । भारत सरकारले त्यही न्यारोगेज रुटमा ब्रोडगेजको निर्माण गरेको छ ।

 

यात्रु र मालवाहक दुवै रेल कुद्ने जयनगर–जनकपुर–कुर्था रेल्वेको शुभारम्भ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं इच्छुक देखिएका छन् । उनको नेपाल भ्रमण अनिश्चित हुँदा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रेल्वेको उद्घाटन गर्ने सम्भावना छ । नेपालको रेल्वे विभागले भने उद्घाटनअघि नै रेलको इन्जिन र डब्बा ल्याउने तयारी थालेको छ ।

 

‘वेटलिजमा भारतीय कम्पनीसित रेलको इन्जिन र डब्बा लिने सहमति यसै साता हुँदै छ,’ नेपाल रेल्वेका इन्जिनियर विनोद ओझाले भने, ‘दुई देशको उच्च तहमै यससम्बन्धी कुराकानी भइरहेको छ ।’ उनका अनुसार सीमित समयका लागि भारतीय कम्पनीसित वेटलिजमा इन्जिन, डब्बा र प्राविधिक सहयोग लिने सम्झौता हुनेछ । ‘त्यो अवधिमा हामी आफ्नै म्यानपावर तयार पार्नेछौं,’ उनले भने, ‘हाम्रा जनशक्ति ट्रेन्ड भएपछि भारतीय कम्पनीको सम्झौता टुट्छ ।’

 

भारतको क्यार्सियल संस्थान र राइट्स रेल्वे कम्पनीसँग इन्जिन र डब्बा वेटलिजमा लिने प्रस्ताव रेल विभागले अगाडि बढाएको छ । विभागले इन्जिनसहित ६ देखि १५ डब्बासम्मको एउटा रेल वेटलिजमा लिने प्रस्ताव गरेको छ ।

 

रेल विभागले भारतीय कम्पनीसित रेल्वे वेटलिज र खरिद गर्ने दुवै अजेन्डामा कुराकानी गरिरहेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले छिटो उपलब्ध गराए रेल खरिद गर्ने योजना रहेको बताए । ‘हाम्रो पहिलो प्राथमिकता रेल खरिद गर्ने हो,’ उनले भने, ‘छिटो उपलब्ध नभए वेटलिजमा रेल्वे सञ्चालनमा ल्याइन्छ ।’

 

रेल विभागले भारतीय कम्पनीसित एक सेट रेल्वे खरिद गर्दा पर्ने रकमको स्टिमेटसमेत मागिसकेको छ । भारतीय कम्पनीले एक सेट रेल्वेको करिव ५० करोड भारतीय रुपैयाँ पर्ने स्टिमेट रेल विभागलाई बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्