बाग्मतीको मुख्यमन्त्री दौडमा ३ दल



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्ता गठबन्धनबाट बाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ। नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँगै बाग्मतीको सरकार गठनमा निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको हो।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएपछि बाग्मतीमा सरकार गठनका लागि नयाँ विकल्पहरू देखिएका हुन्। हालको समीकरणमा बाग्मती प्रदेशको सत्तामा राप्रपा निर्णायक शक्तिको रूपमा छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

बाग्मतीमा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३,नेकपा (एकीकृत समाजवादी)का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। प्रदेशमा कुनै पनि दलको प्रष्ट बहुमत नभएकाले गठबन्धनबाटै सरकार बनाउनुपर्ने बाध्यता छ।

अहिलेको एमाले नेतृत्वकोे ७ दलीय गठबन्धनमा एमाले २७, माओवादी केन्द्र २१ र राप्रपाका १३ जना सांसद छन्। बाग्मतीमा सरकार बनाउन यिनै ३ दलबीच समीकरण हुनेछ।

आफू निर्णायक भएकाले बाग्मतीमा राप्रपाले मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक रहेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले बताएका छन्। साथै, उनले बाग्मतीमा मुख्यमन्त्री नपाए यहाँको सरकार गठनमा अन्य दललाई समेत समर्थन नगर्ने बताएका छन्।

आफूले मुख्यमन्त्री नपाए दोस्रो विकल्प रोज्नेतर्फ पनि राप्रपाले सङ्केत गरेको छ। राप्रपाले भनेको दोस्रो विकल्प कांग्रेस हो। केन्द्रको सत्ता समीकरणमा फेरबदल भएसँगै बाग्मतीमा पहिलो दल बनेको कांग्रेस अहिले प्रतिपक्षमा सीमित छ। तर, राप्रपाको अडान कायम रहेको अवस्थामा गठबन्धनले मुख्यमन्त्री नदिँदा नेपाली कांग्रेस, नेकपा एस र राप्रपाको तालमेलमा पनि सरकार बन्न सक्छ ।

कांग्रेसलाई बाग्मतीमा सरकार बनाउन १९ जना सांसद आवश्यक छ। यदि राप्रपाले भनेको दोस्रो विकल्प सक्रिय हुँदा कांग्रेसका ३७, राप्रपाका १३, एकीकृत समाजवादीको ७ सांसदबाट पनि बाग्मतीमा नयाँ सरकार गठन हुन सक्छ । तर, अहिलेकै अवस्थामा राप्रपाले एमाले नेतृत्वको गठबन्धन छाड्ने देखिँदैन ।

राप्रपाका थापासँगै एमालेबाट संसदीय दलको नेता चयन भएका जगन्नाथ थपलिया मुख्यमन्त्रीका अर्का दाबेदार हुन्। एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएमा थपलिया नै मुख्यमन्त्री बन्नेछन्।

माओवादीबाट शालिकराम जमकट्टेल संसदीय दलको नेतामा चयन भएसँगै उनले पनि आफ्ना लागि मुख्यमन्त्रीको बाटो खुला गरेका छन्। बाग्मतीमा माओवादीको पनि दाबी छ।

जमकट्टेल सर्वसम्मत

नेकपा (माओवादी केन्द्र)को बाग्मती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्। शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।

माओवादीको बाग्मती प्रदेशसभा संसदीय दलको नेतामा जमकट्टेलसँगै गङ्गा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकाङ्क्षी थिए । अन्तिममा जमकट्टेल सर्वसम्मतिबाट नेता चयन भएका हुन् ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललगायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्तावअनुरूप उनको नाम सर्वसम्मत भएको हो । जमकट्टेलको नाम असहमतिबीच पारित भएको भन्दै सहयात्रीले असहमति जनाएका छन् ।

जमकट्टेल यसअघि पनि बाग्मतीमा माओवादीबाट दलको नेता थिए। उनी बाग्मती प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिलामन्त्रीसमेत भइसकेका छन्।

बाग्मती प्रदेशमा माओवादीको पनि मुख्यमन्त्रीमा दाबी रहेकाले गठबन्धनभित्र भागबन्डा मिलेको अवस्थामा जमकट्टेल मुख्यमन्त्री बन्नेछन् । बाग्मतीमा माओवादीबाट प्रदेशसभामा २१ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्