सरकारी र सार्वजनिक शैक्षिक गुठीबीचको भेद्भाव हटाउन माग



काठमाडौँ । प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन्। सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित प्रादेशिक भेलामा सहभागी गुठीअन्तर्गतका शिक्षकले उक्त माग गरेका हुन्।

पोखरा विश्व विद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालले सरकारले सार्वजनिक शैक्षिक संस्था र गुठीअन्तर्गतका शैक्षिक संस्थालाई विभेद गर्न नहुने बताए। “गुठी संस्थानअन्तर्गत शैक्षिक संस्थाले विद्यार्थीबाट केही मात्रामा शुल्क उठाएर तलब खाने गरेका छन्, त्यो सरकारी विद्यालयका शिक्षकले पाउने तलबभन्दा न्यून छ”, उनले भने ।

सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले संस्थाले सरकारलाई पेश गरेको शिक्षाको ढाँचा प्रस्तुत गरेका थिए। गुठीबाट सञ्चालित अधिकांश विद्यालयले प्रदान गर्ने शिक्षा गुणस्तरीय भएको उनको भनाइ थियो।

सङ्घका अध्यक्ष रुपक राजवंशीले गुठीअन्तर्गतका विद्यालयलाई शिक्षा मन्त्रालयले वास्ता नगरेको प्रति गुनासो गरे। सरकारले दुवै विद्यालयलाई हेर्ने दृष्टिकोण फरक हुन नहुने राजवंशी बताउँछन्। “गुठीअन्तर्गत शिक्षक अवकाश हुँदा रित्तो हात फर्कनुपर्ने अवस्था छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्