कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो



सप्तरी । सप्तरीमा अत्यधिक चिसोका बाबजुद सप्तरीको कोसी ब्यारेजमा मेला भर्न आउनेको घुइँचो लागेको छ । सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायत जलासय कोसी पम्प नहरमा नुहाएर आज पुसे पूर्णिमा मनाइँदै छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको छ । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, फारबिसगञ्ज, मधुवनी, लौकही, लौकहा, खुटौना, अररिया, निर्मली, कुनौलीलगायत स्थानबाट कोसीमा स्नान गर्न आएका स्थानीय लीला यादवले जानकारी दिएका छन् । उनका अनुसार बिहानैदेखि बस, ट्र्याक्टर, मोटरसाइकल, रिक्सा, ई-रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेको सङ्ख्या उल्लेख्य छ ।

कौशिका माताका रूपमा कोसी नदीलाई पूजा गर्ने चलनअनुसार यस दिन कोसीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मीठाइ खाने गरिन्छ भने बढी श्रद्धालु घरबाटै मुरही, चिउरा, छोला तरकारी बोकेर जाने चलन छ । एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्तनिर्मित सामग्रीको खरिद-बिक्री गरिन्छ ।

मेलामा कृषकका बढी उपस्थिति हुने गरेको स्थानीयवासी बताउँछन् । पौष शुक्ल पूर्णिमाका दिन कोसी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास रहेको पण्डित पुरण झा बताउछन्। सप्तकोसी नगरपालिका, बलान बिहुल गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कल्याणपुर नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्