कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउँदा लाग्ने खर्च सरकारले बेहोर्ने



काठमाडौं । कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेको शव नेपाल ल्याउँदा लाग्ने खर्च सरकारले बेहोर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र शव नेपाल ल्याउँदा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको हो।

गत बिहीबार राति कम्बोडियाको डायमण्डसिटी र क्यासिनोमा आगलागी हुँदा झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको थियो।

उक्त घटनामा परेर कम्तीमा १९ जनाले ज्यान गुमाएका थिए। कम्बोडियामा ज्यान गुमाएका पाण्डेका बुवा अग्नि पाण्डेले बिहीबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्