समाजवादी नेताको प्रचण्ड-देउवासँग भेटवार्ता : अध्यक्ष नेपालको आपत्ति, बारबाही गर्नुपर्ने माग



काठमाडौँ । एकीकृत समाजवादीका नेताहरूले पार्टीमा जानकारी बेगर एक्ला–एक्लै प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन्। भेटवार्ताको विषयलाई लिएर पार्टीको पदाधिकारी बैठकमा कारबाहीको माग पनि उठेको छ ।

उनीहरुले राजनीतिक भेटघाट हुनु सामान्य विषय भएपनि नेताहरुको यस्तो गतिविधि शंका गर्न लायकको भएको कारण कारबाही गर्नुपर्ने माग उठेको नेताहरुले बताएका छन् ।

उपमहासचिव जगन्नाथ खतिवडाले २२ गते शुक्रबार बिहान ८ बजे र सचिव रामकुमारी झाँक्रीले त्यही दिन बिहान ९ माओवादी अध्यक्ष प्रचण्डसँग भेटको विषयमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले गम्भीर आपत्ति जनाएका हुन् । सोही दिन झाँक्री लगायत केही सांसदहरूले कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत भेटवार्ता गरेका थिए।

खतिवडाले प्रचार विभाग प्रमुखको हैसियतमा पार्टी अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीचको भेटलाई व्यक्तिगत भन्ने, तर आफैँ खुसुखुसु प्रचण्डसँग भेट्न जाने कुरा सुहाउँदो नभएको भन्दै उनलाई कारबाही गरिनुपर्ने आवाज पार्टी पदाधिकारीबीच उठेको छ। प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री हुने तयारी गर्ने क्रममा एकीकृत समाजवादीलाई बेवास्ता गरी एक्लै गएको घटनापछि २ पार्टीबीचको सम्बन्धमा आएको चिसोपना अझै कम भैसकेको छैन।

पछिल्ला दिनमा सरकारलाई समर्थन गर्ने र एकता मामिलालाई लिएर संवाद सुरु भए पनि एकीकृत समाजवादीले प्रचण्डको कार्यशैली विश्वसनीय नभएका कारण अझैसम्म समर्थन दिने कि नदिने भन्ने निर्णय समेत गरेको छैन। यस्तो स्थितिमा पार्टीका पदाधिकारीहरू जानकारीबिना बालुवाटार जाने कुरा आपत्तिजनक रहेको एक पदाधिकारीले बताए ।

पार्टी महासचिव डा.बेदुराम भुसालले केही नेताहरूले अन्य पार्टीका नेताहरूलाई भेटेकोबारे पार्टीलाई कुनै जानकारी नभएको बताए। ‘उहाँहरूले आफूखुसी भेटेको हो, त्यसबारे पार्टीलाई केही जानकारी छैन’, महासचिव भुसालको भनाइ छ। यसरी नेताहरूले आफूखुसी अर्को पार्टीका नेताहरू भेट्न थालेपछि अध्यक्ष नेपालले आफूनिकटका नेताहरूसँगको कुराकानीमा उनीहरूको कार्यशैलीले शङ्का उब्जाएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्