पार्टी एकता गर्न माओवादीले तयार गर्‍यो सूची, नेसपा र नेकपा एस पहिलो प्राथमिकतामा



काठमाडौँ। नेकपा माओवादी केन्द्रको वार्ता टोलीले पार्टी एकता गर्नका लागि पार्टीहरुको सूची तयार गरेको छ । बृहत वाम एकता गर्ने भन्दै एकता गर्नका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ।

बृहत वाम एकताको पहलका लागि भन्दै गठन गरिएको वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको वार्ता टोलीका एक नेताले जनाएको छ ।

टोलीले तयार गरेको सूचीको आधारमा एकताको लागि पहल गर्ने नेताहरुले जनाएको छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वका वार्ता टोलीमा सदस्यहरु महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्ति बस्नेत छन्।

एकताका लागि पहिलो प्राथमिकता बाबुराम भट्टराई र माधव नेपालको पार्टीलाई राखेको वार्ता टोलीका सदस्यहरुले जनाएको छ ।

बाबुराम र एकीकृत समाजवादी पहिलेदेखि कुनै न कुनैसँग छलफल चलेका कारण पहिलो प्राथमिकता तिनीहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ ।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावपछि एकता गर्ने सहमतिसहित माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने बताउँदै आएका छन् । आइतबारदेखि सुरु भएको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले एकताबारे निर्णय लिने नेताहरुले बताएका छन् ।

चुनवाअघि नै माओवादी र एकीकृत समाजवादीबीच एकताको चर्चा चलेको थियो । माओवादीसँग एकताका लागि भन्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालको नेतृत्वमा समिति नै बनाएको थियो। चुनाव सकिएपछि पनि उसले वाम एकताको कुरा उठाएको छ। त्यसका लागि महासचिव बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ।

नेपाल समाजवादी पार्टीसँग एकता हुने निश्चित जस्तै रहेको माओवादीका नेताहरु बताउँछन् । एकीकृत समाजवादी पार्टीसँग नै एकता सम्भव नभएको खण्डमा त्यहाँको एउटा समूहसँग भए पनि एकता हुने विश्वास माओवादीका नेताहरुको छ ।

त्यस्तै प्रभु साहसँग पनि वार्ताका लागि छलफल हुने माओवादी नेताहरुले बताएका छन्। साहले हालै आम जनता पार्टी खोलेका छन् । एमालेसँग जान नसक्ने भएकाले साह समेत माओवादीमै आउने नेताहरुको भनाइ छ।

उपमहासचिव पोखरेलले संसद बाहिर रहेका शक्तिहरुसँग पनि एकताका लागि वार्ता टोलीले छलफल गर्ने बताए। माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द्र, धर्मेन्द्र बास्तोला, मोहन वैद्य लगायतका पार्टी संसद बाहिर छन्। उनीहरुसँग समेत एकताको पहल गरेर शक्ति हासिल गर्ने माओवादी नीति देखिन्छ।

प्रतिक्रिया दिनुहोस्