मेरो समर्थन एमालेलाई हुन्छ : दीपक मनाङे



पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले एमालेलाई समर्थन गर्ने बताएका छन् । मनाङे मनाङ (ख)बाट निर्विरोध निर्वाचित भएका एकमात्र प्रदेश सांसद समेत हुन् ।

चुनावको बेलामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन देखेका कारण उनी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । गण्डकीमा नेकपा एसका कोही सांसद नभएको बेलामा आफूलाई अवसर हुने ठानेर उनी माधव नेपालको पार्टी प्रवेश गरेका थिए ।

केन्द्रमा नेकपा एस सरकारमा जाने अथवा नजाने टुंगो छैन । तर, मनाङेले भने आज गण्डकीमा बन्ने नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन् । “म कम्युनिस्ट मिल्नुपर्छ भन्ने मान्छे हो, खगराज दाइलाई मेरो समर्थन छ,” उनले भने ।

गण्डकीमा एमाले २२, माओवादी केन्द्र ८ र राप्रपा २ सहित ३२ सांसदको समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन् ।आफू निर्णायक नभए पनि मनाङेले भने आफ्नो हस्ताक्षर पनि दिने जनाएका हुन् । “म अहिले गएर मेरो डकुमेन्ट बुझाएर आउँछु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्