सबैले मिठा कुरा गरेर देशलाई ठग्छन् : अध्यक्ष केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबैले सरकारमा जाने बेला रोष्ट्रममा उभिएर मिठा कुरा गरे पनि पदमा गए पछि गैरजिम्मेवार हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्दै अध्यक्ष केसीले अहिले प्रधानमन्त्री प्रचण्डले पनि त्यस्तै कुरा गरेको बताए ।

“प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सुशासन र सुधारका कुरा गर्नुभयो । जसले पनि यो रोष्ट्रममा उभिएर त्यस्तै गर्ने गरेका छन्,” केसीले भने, “यो रोष्ट्रममा उभिएर खुसखोरी गर्छु, राष्ट्रियतामा सौदावाजी गरेर सरकारमा जान्छु भनेको मैले सुनेको छैन । म चौथो पटक यो सदनमा उपस्थित छु ।”

अध्यक्ष केसीले सत्ताका लागि कसैमा इमानजमान नदेखिएको बताएका छन्। केसीले गठबन्धनमासमेत इमानजमान नदेखिएको आरोप लगाएका हुन्। यसअघि नेताहरुले नेपाललाई स्विटजरल्यान्ड बनाउँछु भनेर दाबी गरे पनि मन्त्री र सांसद उत्पादक गर्ने कारखानामात्र भएको केसीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्