आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।

ज्येष्ठ सदस्य जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी दिएका हुन्।नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास धुम्बाराही पुगेर सोमबार साँझ भेटवार्ता गर्दै विश्वासको मत मागेका थिए। देउवाले पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिएका छन्।

प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि पटकपटक भेटवार्ता गरी विश्वासको मत मागेका छन्। एकीकृत समाजवादीले पनि आज सचिवालय बैठक गरेर विश्वासको मत दिने वा नदिने निर्णय गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्