कोदो दिवस र खिचडी संसद्



  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

काठमाडौं । माघ १ गते खिचडी खाने दिन, त्यसो त जाडोका कारण महिनाभरि नै खिचडी खाएको बेस । दही–चिउरा खाने १५ असार, खीर खाने १५ साउन । पर्वै पर्वहरू छन् देशमा तर पर्व सम्बद्ध उत्पादन छैन र त जनै पूर्णिमा मनाउने जनै र तिहारका ओखरहरू पनि आयात हुँदा यहाँ व्यापार घाटा २० खर्ब रुपैयाँ नाघेको हुन्छ । सङ्घीयता भएको देशमा नेताहरू यसैलाई आफ्नो उपलब्धि मान्छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल र उडान भन्दै तामझामका साथ उद्घाटन गर्दा बाराको उद्घाटन यसैगरी छिटो गर्ने उद्घोष पनि भयो तर भारतले भैरहवालगायत पोखरा छिर्ने आकाश दिएको छ कि छैन, चासो भएन ।

अन्तर्राष्ट्रिय कूटनीतिमा सधैँपछि परेको देश राष्ट्रिय नीतिमा पनि स्थिर छैन र त बालेनको डोजरले अहिले आराम गर्दै छ, गृहमन्त्रीको निरीक्षणपछि राहदानीको सर्बरकै सातो गएको छ, सबैले आराम लिएका छन्, यी पङ्क्ति तयार गर्दासम्म । प्रणालीले काम नगर्दा हातको काम टाउकोले, टाउकाको काम खुट्टाले गर्न लाग्यो भने हुने यस्तै हो । मुखको काम पेटले गर्दैन । सबै अङ्गको आफ्नै महत्व हुन्छ ।

तीर्थाटनदेखि सबै कामको सिको दक्षिणतिरबाट गर्छौं हामी । नवलोकतन्त्र र सङ्घीयता दिल्लीबाटै आएको हो र सघाउनेहरू अलिक परैका समुद्रपारिका पनि थिए । यो हामीलाई घाँडो भएको छ, जसले ल्यायो उसैैलाई भारी भएको छ । अरूको सिको गर्न हामी खप्पिस त छौँ तर भारतले नै कोदोसमेत संसारमै धेरै उत्पादन गरेको सिको भने हामीले गरेनौँ बरु घस्रिँदै हामी कोदो उत्पादनमा विश्वको १३औँ देश भएका छौँ ।

हामीभन्दा अघि चीन, नाइजेरिया, माली, इथियोपिया, सेनेगल, बुर्किनाफासो, चाड, सुडान, रुस, तान्जानिया र भारत क्रमशः ठूला छन्, कोदो उत्पादन गर्नेहरू । सरकारले सन् २०२३ आरम्भ भएको पहिलो दिनदेखि नै वर्षभरि कोदो महोत्सव मान्ने भएको छ, सचेतना कार्यक्रमअन्तर्गत खाद्य, पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली भन्ने नारा पनि सार्वजनिक गरेको छ । कोदोलाई कुअन्न मानिन्थ्यो पहिले र हाम्रा पुर्खाले ढुकुटीमा कोदो भरेर महँगो भएको बेला बेच्थे । ब्राह्मण, गुरु, पण्डित परिवार भएकाले कोदो, फापर, लसुन, प्याज खाइन्नथ्यो मात्र होइन, घरभित्रै हुलिन्नथ्यो पहिले ।

कोदोको महत्व

अहिले कोदोको सोख, महत्व बढेको छ । यसमा क्याल्सियम, फोस्फोरस धेरै हुने र सुगरलेस भएकाले मधुमेहलगायत सबैजसो रोगविरुद्ध लड्ने क्षमता राख्ने कोदो, फापर, लट्टे, जुनेलो नेपाली रैथाने जातिका बालीलाई प्रश्रय दिनुपर्ने जनमत आएको छ ।

स्वादिलो, पोषिलो, गुणकारी र स्वास्थ्यबद्र्धक कोदो हाम्रा प्रमुख बाली धान, मकै, जौ, गहुँ सरह छ तर लोपोन्मुख । अन्य अन्न बालीको तुलनामा यो रोपण, भण्डारण, बजारीकरण, मूल्य अभिवृद्धीकरणमा सहज छ । ढिँडो, रोटीका रूपमा प्रयोग गर्न सहज कोेदो हिजोआज होटल, रेस्टुरेन्टहरूमा व्यावसायिक प्रयोग हुँदै आएको छ । पिजा, हलुवालगायत रक्सी पार्ने काममा पनि यो प्रयोग हुने गरेको छ ।

सरकारले गएको ३ वर्षमा देशका १३३ गाउँपालिकाहरूलाई २६ करोड रुपैयाँ अनुदान दिई कोदो उत्पादनलाई प्रश्रय दिएको देखिन्छ भने कोदोका लागि उर्बर क्षेत्र भनेको तराईदेखि समुद्र सतहबाट ३१ मिटरसम्मको उचाइ हो । यस अर्थमा हाम्रा पहाडी भाग यसका लागि उर्बर छन्, भनौँ, सबै क्षेत्र खोटाङ, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा, सिन्धुली, गोर्खा बढी उर्बर छन् भने मनाङ र मुस्ताङमा धेरै कम मात्र ।

असिञ्चित, कम वर्षा हुने क्षेत्र, कम उर्बर क्षेत्रमा पनि यो सदाबहार उब्जा हुन्छ भने हाम्रो कुल उत्पादन क्षेत्रमध्ये ७ दशमलव ७ प्रतिशत कृषि भू-भाग कोदोले नै ओगटेको छ र कुल क्षेत्रफलमा ९५ प्रतिशत पहाडी क्षेत्र नै हो । खाद्य तथा कृषि सङ्गठनको सन् २०२० को तथ्याङ्कमा नेपालमा कोदो उत्पादन ३ लाख २० हजार १५३ मेट्रिक टन छ । आ.व. २०७४/०७५ को तथ्याङ्कमा देशभर कोदो उत्पादन क्षेत्रफल २ लाख ६३ हजार ४९७ हेक्टर हो, जसमा ११ हजार ९२ प्रतिहेक्टरका दरले ३ लाख १३ हजार ९८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

मकवानपुरको कुनै क्षेत्रमा त ३०० हेक्टरसम्म कोदो बाली लगाइएको र ३६० मेट्रिक टन बाली भित्र्याइएको खबर आएको छ । मधुमेह, युरिक एसिड, रक्तचाप, दम, रुघाखोकी, शरीर दुखाइ, पेटको दुखाइ, कब्जियत, झाडापखालालगायत तमाम रोगका लागि यसको सेवन उत्तम हुने र यसले शरीरको बोसो घटाई कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्छ । प्रोटिन र खनिज प्रसस्त मात्रामा हुने भएकाले सुत्केरीलगायत सबैका लागि यो उत्तम खाना मानिएको छ । पहिलेपहिले यसलार्ई हेयको रूपमा हेरिन्थ्यो र कोदो खानेलाई कोदे, खोले खाने मान्छे भनिन्थ्यो । समयको अन्तरालमा यसले महत्व त पाएको छ तर हाम्रा बारीहरूमा अचेल डोजर कुदेका छन्, जनशक्ति खाडीमा ।

अङ्ग्रेजीमा एउटा उखान छ, ‘दश उपदेशभन्दा एक उदाहरण बेस ।’ यसैलाई मनन गर्दै पङ्क्तिकारले कोदो पिँधेर ढिँडो खाएको, भात खाँदा आधाघण्टा सम्म निल्न गहारो हुन्थ्यो यसको ढिँडो त प्रसादी जस्तै ३ मिनेटमै सिनित्तै भयो, मधुमेहको रोगी, हेभी खाना खान नहुने जे खाए पनि चाख्नु मात्र पर्ने, खान त जे पनि हुन्छ डाइरेक्ट सुगरबाहेक अलिअलि ।

खिचडी संंसद्

सबैको माउ नीति राजनीति हो, राजनीति गर्ने सङ्घीय संसद् र अरू सबै अहिले खिचडी जस्ता छन् । त्यसो त देशमा दुई तिहाइ वा बहुमत कुनै पनि टिकेको इतिहास नै छैन २००७ सालदेखि नै । हिउँदको खिचडी पोषिलो र स्वादिलो त हुन्छ, पौष्टिक पनि तर नीति तय गर्ने सरकार वा संसद् खिचडी जस्तै हुँदा देश मध्यावधितिर जाला भन्ने डर पनि छ । अहिलेको संसद्मा सङ्घीयता ल्याउने, लतारिएर यसको पक्षपोषण गर्ने, मान्दै नमान्ने, करकापले मान्ने सबैथरिको प्रतिनिधित्व छ ।

देशमा बहुनायक छन्, शास्त्रले नश्यन्ति बहुनायकाः भनेको छ । देश चरम व्यापारघाटा र ऋणमा छ । यतिका प्रदेशहरू आवश्यक छैनन्, खर्च धान्न सक्ने अवस्था छैन । अब लाज नमानीकनै संविधान संशोधन गरिनुपर्छ, जसले सङ्घीयता ल्यायो, उसैलाई घाँडो भइसकेको छ । सङ्घीयता ल्याउनेकै नेतृत्वमा दुई तिहाइको समर्थन गराएर प्रदेश संरचना र हिन्दु निरपेक्षतालाई खारेज गर्नुपर्छ भन्ने आवाज बुलन्द छ ।

समुद्रपारिकाको जोड–घटाउ नजिकको भारत र चीनलाई मनपरेको छैन । हालै एकाएक रसुवा नाका खुल्नु र बीआरआईको चर्चा चल्नु, पोखरा विमानस्थलले माला लाउन पाउनु संयोग मात्र होइन । लतारिएर सङ्घीयतामा आउनेहरू प्रतिपक्षमा बसेर मौन समर्थन गर्दै बाँकी सबैले मिलेर संविधान संशोधन गर्न दुई तिहाइको मत पुग्छ । ९४ प्रतिशत ॐकार परिवार भएको देशमा संविधानसभाका लागि मत लिइएको पोका खोेलिएको छैन भन्नेहरू अझै धेरै छन् । पछिल्लो जनगणनाको यकिन विवरण बाहिर अझै आउन लाज मानिरहेको छ । रवि, बालेन, हर्क, हमाल, ज्ञवालीहरूको देशले प्रतिनिधित्व खोज्नु भनेको देशलाई यथास्थितिमा राख्नु पक्कै होइन, यी केवल सत्ताका भोगी नहोलान् ।

अब देशले निकास पाउनुपर्छ, विकास त्यसपछि होला । प्रदेशका लागि उम्मेदवारै नदिनेहरूले सत्ता लिएर जागिरे मात्रै होलान् जस्तो लाग्दैन । कंग्रेसले हामी शक्तिमा भएनौँ भनिदिएर युरोपियन युनियन एवं अमेरिकासँग पन्छन मिलिहाल्छ । आफू टिकिरहन रूखको मतलाई उनले हँसिया-हथौडामा हाल्न लगाए, बीपीको सिद्धान्त छाडे देउवा कांग्रेसले । बामपन्थीहरूसँग गला नमिलाउनू भनेका थिए बीपीले । समयले कोल्टो फेरेको छ, सुध्र्रिए फेरि समय आफ्नो पक्षमा हुन्छ नै ।

अहिलेलाई स्वतन्त्रलगायत वामपन्थी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबैले नयाँ सरकारलाई समर्थन गरिदिने तर शर्त भने समानुपातिक प्रणाली, धर्मनिरपेक्षता अनि सङ्घीयतालाई खारेजी गर्नेगरी संविधान संशोधन गरिए राम्रो हुन्छ । संसद्ले नै खारेज गरेपछि अन्तर्राष्ट्रिय जगत्ले बोल्ने मौका पनि पाउँदैन । चीनलाई पनि असहज हुँदैन र भारतलाई पनि, एक मात्र विश्वको चिनारी सर्व धर्म स्वतन्त्रतासहितको हिन्दु राज्य नेपाल भन्न सबैलाई राम्रो पनि हुन्छ ।

गणतन्त्र आवश्यक हो भने कम खर्चिलो हुनेगरी ‘नोमिनल हेड’ राख्न सकिन्छ वा कार्यकारी, जो प्रत्यक्ष निर्वाचित हुने प्रणाली राख्दा पनि हुन्छ । विश्वका धेरै कम देशमा मात्र छ सङ्घीयता, जो धेरै खर्चिलो, चुनाव नै अतिमहँगो, धेरै जनालाई देशले पाल्नुपर्ने, सानो गरिब देश नेपालका लागि आवश्यक होइन । छिमेकी भारतमै पनि २५ करोड जनसङ्ख्या भएको प्रान्तमा एक प्रदेश छ, हामीकहाँ यतिका प्रदेश चाहिँदैन । संविधान संशोधन गरी यी बुँदाहरूमा संशोधनपछि सानो संयन्त्र पुनर्संरचना गरेर सानो आकारको संसद्का लागि चुनाव गर्ने, दलहरूले आ-आफ्नो घोषणापत्र लिएर, अहिले जस्तो कुनै तालमेल नगरी स्वतन्त्रपूर्वक मतदातामाझ जाने र आफ्नै बल बुताले संसद्को प्रतिनिधित्व गर्दै सरकार बनाउने हो, काम देखाउने हो, जनताको पक्षमा रहने हो, सेवा चुस्त ढङ्गले प्रवाह गर्ने हो ।

अहिले कसैको जिम्मेवारी कतै देखिएन, केवल भागबन्डा, मिलेमतो, अंशबन्डा भयो । नेतृत्वमा फेरबदल भइरहँदा नीति स्थिर भएन । हेर्दा नेता उनै हुन् तर यिनको बनोट फरक ढङ्गले भयो, जसले समस्या जहाँको त्यहीँ रह्यो । र त हालको संसद् खिचडी अब पनि, परिणाम पनि उही खिचडी तालको हुने हुन्छ । कम खाए नअघाइने, बढी खाए डायरिया हुने यो खिचडीको दोष हो, अन्यथा पछिसम्म यो दोष कायमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्