लोकतन्त्रको अलोकतान्त्रिक अभ्यास



काठमाडौं । विश्वमा थरिथरिका लोकतन्त्र प्रचलनमा छन् । हामीकहाँ ‘बहुदलीय लोकतन्त्र’का नाममा प्रचलित छ। सामान्यतयाः राजनीतिक ‘सेन्स’मा बहुदलीय लोकतन्त्रमा जनताद्वारा चुनिएका प्रतिनिधिहरूले शासन गर्छन्। त्यसमा पनि संविधानअनुसार बहुमत वा सबैभन्दा धेरै सिट ल्याउने दलले सरकार बनाउने प्रावधान हुन्छ।

यदि यी सम्भव नभए २ वा सोभन्दा बढी दलको समर्थनप्राप्त सांसद प्रधानमन्त्रीमा नियुक्त हुन्छ। अहिले नेपालको राजनीतिमा दोस्रो अवस्था देखिएको छ । गत ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनबाट कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेका तर सबैभन्दा बढी सिट नेपाली कांग्रेसले ल्याएको अवस्था थियो।

यस अवस्थामा कांग्रेसले निर्वाचनताका गरेको गठबन्धनमा खट्पट भई गठबन्धनको एउटा घटक नेकपा (माओवादी केन्द्र) बिच्कियो र नेकपा एमालेलगायतसँग समीकरण गर्न पुग्यो। नयाँ उदीयमान दलहरू समेतको समर्थनमा तेस्रो हैसियतको माओवादी सरकारको नेतृत्व गर्ने ‘बाध्यता’मा पुग्नु उसै पनि अनौठो परिदृश्य हुँदै हो, त्यसमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो विशुद्ध राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो सङ्घीयताविरोधी पार्टीहरूलाई काखी च्यापेर सरकारमा नेतृत्व लिनु माओवादी जस्तो आमूल परिवर्तनकारी, गणतन्त्रवादी र सङ्घीयता पक्षधरका लागि बाहिरबाट हेर्दा ‘लाजको पसारो’ पनि बनेको छ। तर, यसभन्दा पनि लाजको पसारो र राजनीतिक नैतिकता तथा इमानको धज्जी उडाउने कामचाहिँ कांग्रेसबाट भएको छ।

कांग्रेस पछिल्लो राजनीतिक समीकरणमा प्रतिपक्षको ‘ग्यालरी’को भागीदार हो तर वर्तमान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएर कांग्रेस ‘न सत्तापक्ष, न त प्रतिपक्ष’को अवस्थामा पुगेको छ। राजनीतिक इमान्दारी र आचरणले सदनबाट बहुमत समर्थन प्राप्त हुने अवस्थामा प्रतिपक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिने अवस्था वा ‘बाध्यता’ विरलै हुने गर्छ।

यस अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई प्रष्ट बहुमत प्राप्त हुने अवस्थामै विश्वासको मत थोपरेर राजनीतिक नैतिकताको खिल्ली उडाएको छ। यसपछि अब कांग्रेसले प्रतिपक्षकै ग्यालरीमा बस्ने निर्णय गरिसकेको छ तर प्रतिपक्षको ग्यालरीमा बस्ने नैतिक र कानुनी अधिकार र हैसियत भने गुमाएको छ।

प्रतिक्रिया दिनुहोस्