प्रदेश १ को उपसभामुख एमालेकी दनुवार



विराटनगर । प्रदेश १ को उपसभामुख पदमा नेकपा एमालेकी ४६ वर्षीया सिर्जना दनुवार निर्वाचित भएकी छिन्। प्रदेशसभा सचिवालयमा भएको उपसभामुख निर्वाचन प्रक्रियामा दनुवारको पक्षमा ५७ मत परेको हो।

उनलाई उपसभामुख पदमा मत दिन्न भन्ने पक्षमा ३३ मत परेको छ। मतदानमा ९० जना सांसदहरुको सहभागिता थियो। दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका थिए।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्। सत्ता गठबन्धन दल एमाले, माओवादी, राप्रपा र जसपाको गरी ६० मत हुन्छ।

यद्यपि सभामुख तटस्थ बसे भने एमालेका २ सांसद अनुपस्थित रहे। यसैबीच यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राईको पक्षमा ३३ मत परेको थियो । उनको विपक्षमा ५७ मत परेपछि राई उपसभामुखमा पराजित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्