नाउपा तटस्थ बस्दा सुदूरपश्चिमले दोस्रो पटक निर्वाचन गर्दा पनि पाएन सभामुख



धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसदहरु सभामुख चयन प्रक्रियामा तटस्थ बस्दा सभामुख चयनको लागि दोस्रो पटक भएको मतदानबाट पनि सुदूरपश्चिम प्रदेशसभाले सभामुख पाउन सकेन । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद तटस्थ रहेपछि सभामुखले पाउनु पर्ने ५१ प्रतिशत मत पाएनन् ।

उम्मेदवार दोय माओवादी केन्द्रका सांसद भीमबहादुर भण्डारी र कांग्रेस सांसद मानबहादुर रावलले निर्वाचित हुनका लागि आवश्यक ५१ प्रतिशत मत पाउन सकेन ।

सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ मत पर्‍यो । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन कम्तीमा २७ मत ल्याउनुपर्छ। त्यस्तै नेपाली कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाए।

सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयनका लागि यसअघि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए।

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

सभामुख चयनका लागि मतदान हुुनुअघि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफूहरुसँग सत्ता गठबन्धनले गरेको सहमति व्यहारतः कार्यान्वयन नभएकाले तटस्थ बस्ने जानकारी गराएका थिए।

निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेपछि सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि निर्णयको पक्ष र विपक्षमा बहुमत पुग्न सक्दैन।

प्रतिक्रिया दिनुहोस्