विमान दुर्घटना : लोक गायिका छन्त्याल र पत्रकार पौडेलको मृत्यु



काठमाडौँ। पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्याल र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ ।

गायिका छन्त्याल माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् भने पौडेल आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

‘बिहान १० बजे काठमाडौं एयरपोर्टबाट मम्मीलाई फोन गरेर पोखरा जाँदैछु । उहाँ पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर उसको कहिल्यै फोन आएन,’ बागलुङस्थित घरमा रहेकी छन्त्यालेकी दिदि हीरा छन्त्याल शेरचनले भनिन् । विमान दुर्घटनामा परेको खबर आएपछि नीराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ आइरहेको उनले जानकारी दिइन्।

पौडेल माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका थिए । यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए। प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौँ आएका थिए। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ।

करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक छन् । कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टी गरेको छ । उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन ।

पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् ।

नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा पुरुष तथा महिला भलिबल प्रतियोगता गर्ने कार्यक्रम थियो । त्यस अवसरमा नीराले सांगीतिक प्रस्तुति दिने तयारी थियो । नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ ।

प्रतिक्रिया दिनुहोस्