विमान दुर्घटना अपडेट : १३ जना शवको सनाखत



काठमाडौँ । कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ। मृतकमध्ये १३ जनाको सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी रामदत्त जोशीले बताए।

आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१ विमान १० बजेर ५० मिनेटमा दुर्घटना भएको थियो। दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाहीसहित १३ जना छन्।

दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा.सुशिल श्रेष्ठ, डा.सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन्। प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ।

विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसी, अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर सवार थिए।

प्रतिक्रिया दिनुहोस्