प्रतिपक्ष दलमा नेमकिपाको दाबी, नदिए अदालत जाने



काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रमुख प्रतिपक्षी दलको नेतामा दाबी गरेको छ। पहिलो, दोस्रो, तेस्रोदेखि दशौं स्थानसम्मको दलले सरकारलाई विश्वासको मत दिएको उल्लेख गर्दै नेमकिपाका सांसद प्रेम सुवालले आफूहरु एघारौं ठूलो दल भएको भन्दै विपक्षी दलको नेतामा दाबी गरेका हुन्।

‘नियम अनुसार नै नेमकिपा प्रमुख प्रतिपक्षी दलको नेता हो । नियमावली मिच्ने कार्य हुनुहुँदैन’ सुवालले भने, ‘कानुन बनाउने थलो संसदले नियम मिच्दैन भन्ने विश्वास छ। केही गरी गलत बाटोमा लाग्यो भने विपक्षी दलको नेता माग्दै अदालत जान बाध्य हुन्छौं।’

४ मंसिरमा सम्पन्न आम चुनावबाट संसदमा १२ वटा दलले प्रतिनिधित्व जनाएका छन् । त्यसमध्ये १० वटा दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन्। प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्रै प्रधानमन्त्री प्रचण्ण्डलाई विश्वासको मत दिएनन्। विश्वासको मत नदिएका दुबै दसँग प्रतिनिधिसभामा १-१ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्