माओवादीबाट रेखा शर्मा, सुदन किराती र अमनलाल मोदी मन्त्री बन्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो। शपथ दिउँसो १ बजे हुने तय गरिएको छ।

दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। प्रधानमन्त्रीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । यसबाहेक माओवादीबाट अब ३ मन्त्री र १ राज्यमन्त्री थपिने छन्।

एक नेताका अनुसार रेखा शर्मा, सुदन किराँतीले मन्त्रीमा अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।

त्यस्तै अमनलाल मोदीलाई सङ्घीय मामिला तथा सामान्य  प्रशासनमन्त्रालयको जिम्मेवारी दिइने भएको छ।  एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्