मदनका सहयात्रीलाई साझा बन्ने चुनौती



काठमाडौं । प्रतिनिधिसभाको नवौँ सभामुखका रूपमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा चुनिएका हुन् । सत्ता गठबन्धनले एमालेका घिमिरेलाई समर्थन गरेको थियो भने सरकार बाहिरका केही दलको समर्थनमा कांग्रेसले न्यौपानेलाई उम्मेदवार बनाएको थियो।

बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ र न्यौपानेको पक्षमा १०० जना सांसदले मत दिएका थिए। २७५ सांसदमध्ये २६८ सांसदको उपस्थिति थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशम्शेर राणा भने सभाध्यक्षको रूपमा थिए भने वर्षमान पुन, बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी गरी ५ जना अनुपस्थित थिए। बाँकी १ जना सांसद टेकबहादुर गुरुङ निलम्बित छन्।

घिमिरेको पक्षमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदसहित ३ स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका थिए। त्यस्तै, नेपाली कांग्रेसकी न्यौपानेलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले गरेका थिए । संविधानअनुसार वरीयताको क्रममा सभामुख पाँचौँ ठुलो पद हो ।

मदनका सहयात्री हुँदै सभामुखसम्म

२०३१ सालमा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका घिमिरे अहिले एमाले प्रदेश १ का इन्चार्ज छन्। १३ जेठ, २०१३ मा ताप्लेजुङ सिकैचा– ३ मा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन् । ताप्लेजुङबाट झापामा बसाइँसराइ गरेको घिमिरे परिवारको बसोबास अहिले बिर्तामोडमा छ। घिमिरे परिवारका १२ सन्तानमध्ये उनी माइला सन्तान हुन् ।

२०३२ सालबाट राजनीतिमा प्रवेश गरेका घिमिरेले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईएसम्मको अध्ययन गरेका छन्। थप अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना भए पनि उनले बीचमै पढाइ छाडेका थिए। २०५४ सालमा राष्ट्रियसभा सदस्य बनेको उनी २०७५ सालमा तत्कालीन नेकपाको प्रदेश १ अध्यक्ष थिए भने २०७८ सालमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका थिए।

घिमिरेले लामो समयसम्म स्व. नेता मनमोहन अधिकारी र मदन भण्डारीको नजिक भएर काम गरेका थिए। मदन भण्डारीसँगै देश दौडाहामा निस्केका उनले अधिकारीसँग पार्टीभित्र सङ्गठन विस्तारको काम पनि गरेका थिए। संसदीय यात्रामा भने उनले २०५४ सालमा नै पाइला टेकिसकेका थिए। २०५४ सालमा घिमिरे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए। तर, त्यसपछिका निर्वाचनमा भने उनले टिकट पाएका थिएनन्।

ओलीनिकट मानिने घिमिरेले यस पटकको निर्वाचनमा टिकट पाउँदै झापा– २ बाट निर्वाचित भएका हुन्। उनले २८ हजार ७१६ मतका साथ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाललाई पराजित गरेका थिए। पार्टी र पार्टी अध्यक्ष ओलीको लयलाई समाउँदै आएका घिमिरेलाई संसद्मा निष्पक्ष भएर काम गर्न भने चुनौती देखिन्छ। राजनीतिक मैदानमा उनलाई ‘ओलीको गोजीका मान्छे’ पनि भनिन्छ। करिब ५ दशक लामो राजनीतिक यात्रामा कुनै ठुलो सार्वजनिक पद पाउन नसकेका उनी अहिले ओलीकै चयनमा सभामुख भएका हुन्।

लामो समयसम्म ओली विश्वासपात्र भएर राजनीति गर्दै आएका उनले सभामुखको रूपमा पार्टीलाई प्रधान मान्छन् वा संसदीय प्रणालीलाई सर्वोपरि मान्छन्, आउँदा प्रतिनिधिसभा बैठकले त्यसलाई छर्लङ्ग पार्नेछ।

प्रतिक्रिया दिनुहोस्