सभामुखमा नाकाम भएपछि कांग्रेसको ‘ढोक्सा’ अब राष्ट्रपतितिर



काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै एमालेको शङ्काको घेरामा आएको नेपाली कांग्रेस सभामुख पाउने खेलमा पराजित भयो। तर, कांग्रेसकै नेताहरूको भनालाई उद्धृत गर्ने हो भने अब कांग्रेसको नजर राष्ट्रपतिमा हुने देखिएको छ। कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन सफल भएको एमाले नचाहँदा नचाहँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यतामा थियो।

एमालेको प्राथमिकता प्रधानमन्त्री दिनु÷पाउनु भन्दा पनि ‘गठबन्धन भत्काउनु’ थियो। त्यसमा एमाले सफल मात्र भएन, आफैँले नेतृत्व गरेको गठबन्धनका दललाई मन्त्रीमा सीमित राखेर मुख्य संवैधानिक पदमा आफ्नै दबदबा कायम गर्न सफल भइरहेको छ।

उता माओवादी पनि प्रधानमन्त्री पाएकामा मख्ख छ। हुन पनि कांग्रेसले केही नदिएको अवस्थामा प्रधानमन्त्री पाउनु र उपराष्ट्रपतिमा पनि दाबी गर्न पाउनु माओवादीका लागि उपलब्धि नै हो। तर, सबै हुँदाहुँदै पनि केही नभएको जस्तो अवस्थामा पुगेको कांग्रेस चुप लागेर प्रतिपक्षमा बस्ने मुडमा देखिँदैन । प्रधानमन्त्रीका लागि गठबन्धन दलहरूकै सांसदको समर्थन पर्याप्त हुँदाहुँदै प्रतिपक्षमा रहेर पनि विश्वासको मत दिनुले कांग्रेसको कदमप्रति सबै चकित थिए ।

त्यसलाई राष्ट्रिय सहमतिको नाम दिइए पनि एमाले त्यसलाई मान्ने अवस्थामा थिएन । त्यही दिन रोस्ट्रमबाटै एमाले अध्यक्ष ओलीले शङ्का व्यक्त गरेका थिए । एमालेकै भाषामा भन्दा विश्वासको मतदेखि सुरु भएको कांग्रेसको ‘ढोक्सा थाप्ने’ थाप्ने काम सभामुखमा पनि कायम रह्यो र राष्ट्रपतिको निर्वाचनमा पनि निरन्तरता रहने देखिएको छ । एमालेको भाषामा ‘ढोक्सा थाप्ने’ काम भए पनि विश्वासको मतबाहेक सभामुखमा उम्मेदवार उठाउने प्रक्रिया भने लोकतान्त्रिक पद्धतिअन्तर्गत नै हो ।

उता, गठबन्धन भत्किएको चोटमा परेको कांग्रेस एमाले नेतृत्वको गठबन्धन जसरी पनि भत्काउने प्रयासमा देखिन्छ। कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पनि यसलाई पुष्टि गरेका छन्। विश्वासको मत दिएर सुरु गरेको गठबन्धन टुटाउने प्रयास कांग्रेसले सभामुख निर्वाचनमा पनि दोहोर्‍याएको थियो भने अब यो सिलसिला राष्ट्रपति चयन प्रक्रियामा पनि हुने देखिएको छ।

‘सरकार बनाउने समयमा एमालेकै कारण हाम्रो गठबन्धन टुट्यो। जसका कारण हाम्रो गठबन्धन टुट्यो, त्यसको गठबन्धन टुटाउने प्रयास स्वाभाविक प्रक्रिया हो’, भण्डारीले भने । उनले सभामुखलाई मिसन बनाएर अहिलेको सत्ता गठबन्धन टुटाउने प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर अघि बढ्ने बताएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि राष्ट्रपतिको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्ने गरी तयारीमा लाग्ने बताएका छन् ।

कांग्रेसको भनाइलाई थप बल पुग्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने ‘कोसिस जारी राख्ने’ बताएका छन्। सभामुख चयन भएपछि प्रचण्डले अब बाँकी रहेको समयमा राष्ट्रपतिबारे समझदारीमा आफ्नो प्रयास जारी रहने प्रतिक्रिया दिएका हुन्।

कांग्रेसको चाहना र प्रधानमन्त्रीको प्रतिक्रियाले अबको राजनीतिक कोर्समा केही समय राष्ट्रपति चयन र त्यसमा एमालेको दाबीमाथिको बहसले चर्चा पाउने देखिन्छ । यही २९ माघभित्रमा राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्