सांसदलाई उठाएर राउतले घडी हेरेपछि…



काठमाडौं । बिहीबार प्रतिनिधिसभाले सभामुख चुन्यो । सभामुख चुन्ने प्रक्रियाका क्रममा सांसदहरूले उम्मेदवारका पक्षमा भोट माग्दै धारणा राखे। यसरी सदनमा कुनै विषयमा छलफल चल्दा कहिलेकाहीँ रमाइला र रोचक दृश्य देखिन्छन् । बिहीबारको बैठकमा पनि यस्तै एउटा रोचक दृश्य देखियो।

सभामुख चयनका लागि मत विभाजन हुनुअघि भएको छलफलका क्रममा दलका शीर्ष नेतालाई बोल्न समय दिइएको थियो। सोहीक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमा उपस्थित अधिकांश सांसदलाई आसनबाट उठ्न बाध्य बनाए र १ मिनेट मौनधारण गर्न लगाए।

मधेस आन्दोलनका शहीदको सम्झना र सम्मानमा उनले सांसदहरूलाई १ मिनेट मौनधारण गराएका हुन् । यद्यपि उनले सांसदलाई जबरजस्ती मौनधारण गराएका भने होइनन्। शहीदको सम्मानमा उनले आफैँ मौनधारण गरे र अरूले सम्मान गर्ने कि नगर्ने भनेर प्रश्न उठाए । उनले मौनधारण सुरु गरेपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरू बसिरहेको सिटबाट उठेका थिए। उनीहरूलाई साथ दिन अन्य केही सांसद पनि उठे ।

यसरी सभामुखभन्दा बाहेकका सांसदले उपस्थित अन्य सांसदलाई मौनधारण गराएको सम्भवतः यो पहिलो घटना हो । कोही उच्च पदस्थ व्यक्तिको मृत्युमा शोक प्रस्ताव पारित गर्ने र सभामुखले मौनधारण गराउने अभ्यास भने छ। संसद्मा उपस्थितमध्ये जनमत, नगरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रायः सबै सांसदले उठेर मौनधारण गरे। नेकपा माओवादी केन्द्र र नेकपा एमालेका भने केही सांसदले उठे भने नेपाली कांग्रेसका केही सांसदले पनि मौनधारण गरे।

यस्तै, सदनमा बोल्दै राउतले पदका लागि मात्रै राष्ट्रिय सहमति नखोज्न आग्रह गरे। पदका लागि नभई देशलाई सङ्कटबाट बाहिर निकाल्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको उनको भनाइ थियो । मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोजेको भन्दै उनले प्रश्न गरे। ‘सभामुखको चुनावका लागि विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ । राष्ट्रिय सहमतिको कुरा आयो। राष्ट्रिय सहमति केका लागि ? पदका लागि मात्रै हो कि ? देश सङ्कटमा परेका बेलामा राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन ।’

यस्तै उनले तराईका विभिन्न जिल्लामा शीतलहरले आक्रान्त बनाएको र देशको अर्थतन्त्रमा आएको सङ्कटको विषय पनि उठाए । उनले भने, ‘तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र सङ्कटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्