पर्यटनमन्त्रीद्वारा फूल र खादा अस्वीकार गर्दै सहयोग पेटिका, ६ दिनमै ३ लाख रुपैयाँ जम्मा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब ३ लाख रुपैयाँ जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राखेका थिए ।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित ३ लाख रुपैया जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिएका छन् । उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताए ।

यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिएका छन्। देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उहाँले सुझावसमेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्