ललितपुर महानगरले सुरु गर्‍यो मेलमिलापसम्बन्धी तालिम



ललितपुर । ललितपुर महानगरले वडामा उठेका विवाद वडास्तरमा नै समाधान गर्न मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु गरेको छ। महानगरको न्यायिक समितिले २९ वटै वडाका ३० जनालाई प्रशिक्षार्थीलाई शुक्रबारदेखि तालिम दिन सुरु गरेको हो। यसअघि पनि महानगरले मेलमिलापसम्बन्धी तालिम संचालन गरिसकेको छ।

तालिम प्राप्त मेलमिलापकर्ता वडामा खोलिएको मेलमिलाप केन्द्रमा क्रियाशील छन्। स्थानीय स्तरमा उठेका विवाद वडामा नै समाधान गर्न लागि महानगरले प्रत्येक वडामा मेलमिलाप केन्द्र संचालन गर्ने निर्णय गरेको थियो। जसअनुसार महानगरको २ वटा वडामा उक्त केन्द्र संचालन भइसकेको छ।

तालिमको उद्घाटन गर्दै ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्यले यो तालिम अन्य तालिमभन्दा पृथक भएको बताइन्। उनले भनिन्, ‘यो जीवन रुपान्तरणको तालिम हो,त्यसैले सक्रिय भएर लाग्नुस्।’ विवादरहित समाज निर्माणका लागि यो तालिम आवश्यक भएको बताइन्। वडामा उठेका विवाद समाधान गर्न यो तालिमपछि व्यक्ति समक्ष हुने उनले दाबी गरिन्।

रुपान्तरणसहितको समाज निर्माणका लागि यो तालिम उपयोगी भएको उपप्रमुखको भनाइ थियो। बाग्मती प्रदेशका पूर्वन्याधिवक्ता श्याम नारायण श्रेष्ठले मेलमिलाप विवादको वैकल्पिक समाधान भएको बताए। अदालतले गरेको निर्णयमा समेत व्यक्तिले चित्त नबुझाएको उदाहरण प्रस्तुत गर्दै उनले मेलमिलापले विवादका दुबै पक्षलाई आत्मसम्मानको अनुभव गराउने बताए ।

उनले भने, ‘मेलमिलाप द्धन्द्ध व्यवस्थापनको उपयुक्त माध्यम हो।’ श्रेष्ठका अनुसार श्रीलंका र वंगलादेशमा मेलमिलापको माध्यमबाट धेरै विवाद समाधान भएको छ। नेपालमा यसको अभ्यास सुरु हुँदै गएको उनले बताए।

प्रमुख प्रशिक्षक सन्तोष राना मगरले यो तालिम अन्य तालिम भन्दा पृथक भएको बताए। उनले भने, ‘सीपमूलक, जानकारीमूलक र व्यक्तिलाई यो तालिमले दक्ष बनाउँछ, चेन मोडलमा यो तालिम संचालन हुन्छ, एउटा कक्षासँग अर्को अन्तरसम्बन्धित हुन्छ, त्यसैले कुनै पनि कक्षा नछुटाउनुस्।’

विधायन समितिका सदस्य अमिर महर्जनले मेलमिलापबाट समस्याको समाधान गराउँदा दुबै पक्षलाई जितको महसुश हुने बताए। विवाद समाधानका लागि यो तालिम उपयोगी भएको उनको भनाई थियो।

ललितपुर महानगर कानून महाशाखा प्रमुख खगेन्द्र प्रसाद वस्तीले महानगरको २९ वटै वडामा मेलमिलाप केन्द्र सुरुवातको तयारी अन्तिम चरणमा पुगेको बताए। वडाका विवाद वडाकै प्रशिक्षित मेलमिलापकर्ता मार्फत गराउँदा विवाद समाधान प्रभावकारी र छिटो हुने उनले बताए।

कार्यक्रममा न्यायिक समितिका सदस्य प्रदीप डंगोल, तालिम प्रदायक संस्था मेडियसन नेपालका प्रवीण नापित उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्