भारतीय व्यवसायी अडानीको सम्पत्ति ३ दिनमा ८५ खर्ब रुपैयाँ घट्यो



काठमाडौँ। भारतीय व्यवसायी गौतम हडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन्। जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो।

अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो। २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ।

अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंडनबर्गले अडानीका कम्पनी र लगानीमाथि प्रश्न उठाउँदै प्रतिवेदन सार्वजनक गरेका कारण उनका कम्पनीको शेयर मुल्य घटेको हो।

सम्पत्ति घटेसँगै अडानी विश्वको ५ धनी व्यक्तिको सूचीबाट हटेका छन् र उनी अहिले विश्वको आठौं धनी व्यक्ति बनेका छन्।

कर छल्नका लागि विदेशमा कम्पनी दर्ता गरेको, महत्वपूर्ण पदमा आफन्त र नातेदारलाई राखेको र ती मध्ये केहीमाथि अनियमितताको आरोप लागेको, वास्तविकभन्दा धेरै आम्दानी देखाएर ब्यालेन्स सिट तयार गरेको लगायतका आरोप अडानी समूहमाथि छ।

अडानी समूहले संस्थापक शेयर धितो राखेर भारी मात्रामा ऋण लिएको र कतिपय कम्पनी टाट पल्टने स्थितिमा पुगेको आरोप पनि हिंडनबर्गको प्रतिवेदनमा लगाइएको छ।

हिंडनवर्गले ७ वर्षको अध्ययनपछि र अडानी समूहकै पूर्व कर्मचारीहरुले दिएको सूचनाका आधारमा प्रतिवेदन तयार गरेको दाबी गरेको छ। तर अडानी समूहले भने त्यो प्रतिवेदनमा कुनै सत्यता नभएको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्